सुर्खेत समाचारदाता
सुर्खेत, पुस ७ गते । कर्णाली प्रदेशमा शिक्षा क्षेत्रको पूर्वाधारमा पर्याप्त लगानी भएर पनि सो अनुसार गुणस्तर प्राप्त हुन नसकेको शिक्षासँग सरोकार राख्ने पक्षले बताएका छन् । उनीहरूले तीन तहका सरकारले पछिल्लो समय विद्यालयको पूर्वाधार विकासमा लगानी गरे अनुसार शैक्षिक गुणस्तरमा आशातीत उपलब्धि हासिल हुन नसकेको बताएका हुन् ।
सामाजिक विकास मन्त्रालय, सहकर्मी समाजलगायतका संस्थाले शनिबार सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशमा सार्वजनिक शिक्षाको आवश्यकता, चुनौती विषयक कार्यक्रमका सहभागीले शिक्षामा लगानी कम भएको र उपलब्धि धेरै खोजिएको समेत बताएका छन् । पछिल्लो समय शिक्षाको पूर्वाधार विकासमा लगानी भएको तर कक्षाकोठाभित्रको गुणस्तरमा भने लगानी बढ्न नसकेको उनीहरूको भनाइ छ । एक्सन एड नेपालका विज्ञ देवेन्द्र सिंहले नेपालमै शिक्षा क्षेत्रमा लगानी न्यून भएको बताउनुभयो । उहाँले अझै पनि पढ्ने उमेरका पाँच लाख बालबालिका विद्यालयबाहिर भएकाले टिकाउ दर कायम राख्न चुनौती रहेको उल्लेख गर्नुभयो । यस्तै ४२ हजार शिक्षक अस्थायी रहँदा पनि शिक्षामा गुणस्तर आउन नसकेको उहाँको भनाइ छ । पछिल्लो समय सामुदायिक विद्यालयभन्दा निजी विद्यालयमा ३२ प्रतिशत विद्यार्थीको भर्नादर बढेको उल्लेख गर्दै शिक्षामा पनि लगानी २० प्रतिशत हुनुपर्नेमा १० प्रतिशतकै हाराहारीमा भएको पाइएको उहाँले जनाउनुभयो । शिक्षामा लगानी कम भएको उहाँको भनाइ थियो ।
यस्तै शिक्षाविद् एवं मप विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकालले शिक्षाको पूर्वाधारमा विकास बढेको र गुणस्तरको विकास कमजोर रहेको नतिजाले देखाउने गरेको बताउनुभयो । विद्यालयका भवन धमाधम भूकम्प प्रतिरोधी बनेका तर कक्षाकोठाभित्र जुन गुणस्तर बढ्नुपर्ने हो, त्यो बढ्न नसकेको उहाँको भनाइ छ । नागरिक समाजका खिम रेग्मीले विद्यालयका भवन राम्रा र बलियो बने पनि शिक्षाको गुणस्तर राम्रो हुन नसकेको बताउनुभयो ।
प्रदेश बाल क्लबका अध्यक्ष समीक्षा चौधरीले सामुदायिक विद्यालयमा पढाइ हुने पाठ्यक्रम सैद्धान्तिकभन्दा व्यावहारिक हुनुपर्ने सुझाव दिनुभयो । उहाँले कमजोर विद्यार्थीलाई हौसला दिनुपर्नेमा हतोत्साहित गराउने, विद्यालयमा दिइएका कम्प्युटर थन्क्याउने गरिएको, विद्यालयमा बढी राजनीति हुने गरेको आरोप लगाउनुभयो । शिक्षक सङ्गठन सुर्खेतका अध्यक्ष हरिमाया कोइरालाले विद्यालयको भौतिक पूर्वाधारमा लगानी बढे पनि कक्षाकोठाको गुणस्तर बढाउने काममा लगानी बढ्न नसकेको बताउनुभयो ।