• २१ वैशाख २०८२, आइतबार

मालिकामा रोजगार कार्यक्रम सञ्चालन

blog

रोजगार कार्यक्रम मार्फत निर्माण गरिएको पदमार्ग । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख २० गते ।
म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको बजेट तथा योजना कार्यान्वयनमा गाउँपालिका जुटेको हो ।

चालु आर्थिक वर्षमा रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई प्राप्त भएको ५३ लाख ७४ हजार रुपियाँको बजेटबाट पालिकाका सातवटै वडामा विभिन्न १४ वटा योजना सञ्चालन गरिएको छ । योजना कार्यान्वयनका लागि सबै योजनाका रोजगार उपभोक्ता समिति गठन गरी योजना सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण, मर्मत सम्भार, गोरेटो बाटो र सार्वजनिक शौचालय निर्माण लगायतका योजनाहरूमा करिब दुई सय १० जना स्थानीयहरूले न्यूनतम एक सय दिनसम्म रोजगारी पाउने गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । गाउँपालिकाले रोजगार कार्यक्रममा सहभागी भएकाहरूलाई तालिम पनि प्रदान गरिएको उहाँले बताउनुभयो ।

रोजगार कार्यक्रमअन्तर्गत पालिकाको वडा नम्बर ७ बिममा नरालेदेखि बिम्बाङ्गसम्म र वडा नम्बर ३ सिउदीभिर–औल पदमार्ग निर्माण सम्पन्न गरिएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिनुभयो  । पदमार्ग निर्माण भएपछि सर्वसाधारणहरूलाई आवतजावत गर्न सहज भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा पालिकालाई प्राप्त भएको बजेट मध्य चार लाख १४ हजार रुपियाँ लागतमा बिम नरालेदेखि बिम्बाङ्ग सम्म एक सय ४२ मिटर नयाँ पदमार्ग र तीन सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको छ ।

यसैगरी, पाँच लाख ६७ हजार रुपियाँबाट डाँडागाउँको सिउदीभिरदेखि औलसम्म तीन सय मिटर पदमार्ग निर्माण गरिएको गाउँपालिकाका रोजगार सहायक सुवेदीले जानकारी दिनुभयो । भिर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुङ्गाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको वडा नम्बर ३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले जानकारी दिनुभयो । पदमार्ग निर्माण गरिएपछि वडावासीलाई आवतजावतमा सहज भएको उहाँले बताउनुभयो । 

चालु आर्थिक वर्षमा विनियोजन भएका विभिन्न १४ वटा योजना मध्य तीन वटा योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिमचरण पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले बताउनुभयो । योजना कार्यान्वयनका लागि प्रत्येक वडामा गठन भएका रोजगार उपभोक्ता समितिहरू सक्रिय भएको उहाँले बताउनुभयो ।