• ४ वैशाख २०८१, मङ्गलबार

नेकपा एमालेमा नयाँ विवाद

भुसाललाई निलम्बन हुनसक्छ : बडाल, बदलाभावले कारबाही सिफारिस : भुसाल

blog

काठमाडौँ, जेठ २५ गते । पटक–पटक विवादित हुँदै आएकोे नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा फेरि नयाँ विवाद सिर्जना भएको छ । नेता घनश्याम भुसालमाथि एमालेको केन्द्रीय अनुशासन आयोगले कारबाहीको सिफारिस गरेपछि पार्टीभित्र नयाँ विवाद आरम्भ भएको हो ।

वि.सं. २०७८ मङ्सिर १०–१२ गते राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि एमालेभित्रको विवाद ‘टुङ्गिएको’ प्रचार गरिएको गरिएको थियो । मङ्गलबार संसद् बैठकबाट बाहिरिने क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थायी कमिटी सदस्य भुसालमाथि कारबाहीको विषयमा केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताउनुभएको छ ।

एमालेभित्रको यो विवादका सन्दर्भमा स्थायी कमिटी सदस्य भुसाल र केन्द्रीय अनुशासन आयोग आयोगका अध्यक्ष बडालसँग गोरखापत्रले गरेको कुराकानी :

निलम्बन हुनसक्छ : बडाल

– स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गर्नुभएछ, किन यसो गर्नुभएको ? 

स्थायी कमिटी सदस्य भुसास पार्टीको जिम्मेवार नेता हुनुहुन्छ तर उहाँले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीको गरिमामा आँच आउने शैलीमा अभिव्यक्ति दिनुभयो । भुसालको अभिव्यक्ति गम्भीर छ । अध्यक्ष ओलीको अालाेचना मात्रै होइन, राष्ट्रिय महाधिवेशनलाई ‘सौराहा काण्ड’ भन्नुभएको छ, यसो भन्न मिल्दैन, त्यसैले कारबाहीको सिफारिस गरिएको हो । 

आलोचना गर्दैमा कारबाही सिफारिस गर्नै पर्ने के बाध्यता आयो तपाईहरूलाई ?

–पार्टीभित्र अनुशासन हुन्छ । हरेक नेता–कार्यकर्ताले आफ्नो जिम्मेवारीमा बस्नुपर्छ । मैले मात्रै होइन, आयोगका उपाध्यक्ष नेत्र पन्थीसहित सातै जनाको साझा धारणाका आधारमा कारबाही सिफारिस गरिएको हो । 

–आलोचनात्मक चेतको विषय कम्युनिस्ट पार्टीको मर्म हो तर तपाईहरूले भुसालमाथि नियत नै राखेर कारबाही गर्न खोज्दै हुनुहुन्छ, किन ?

–भुसालजी वा अरु केही नेताले पनि स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठकमा बसेर आलोचना गर्न मिल्छ । तर, सार्वजनिक रुपमा मिल्दैन । पार्टीलाई ड्यामेज गर्नेगरी बोल्नुहुन्न । यो कारबाही योग्य विषय हो । हामीले कुनै खराब नियत राखेको छैनौँ । 

–नेता भुसाललाई एमालेबाटै हटाउनै खोज्नुभएको हो ? कस्तो कारबाही हुन्छ त अब ?

–हटाउने भन्ने होइन । कारबाहीको विषयमा केन्द्रीय कमिटीले निर्णय गर्छ । स्पष्टीकरणदेखि निलम्बनसम्मको कारबाही हुनसक्छ ।

कारबाहीको जानकारी छैन : भुसाल

– एमालेभित्र नयाँ झगडा सुरु गर्नुभएछ, किन यस्तो गर्नुभएको ?

– यो झगडा होइन । ठुलो आन्दोलनबाट, एक–एक जनाले राणाकालपछि पञ्चायत हुँदै कठिन परिस्थितिमा वर्षौ लगाएर बनाएको पार्टी हो एमाले । हामी अहिले अप्ठ्यारोमा छौँ । यो अप्ठ्यारोको सामना गर्न पार्टी सञ्चालन विधिअनुरुप हुनुपर्छ । मैले वर्षौँदेखि उठाउँदै आएको विषय यही हो । यो झगडा होइन । पार्टीलाई अप्ठ्यारोबाट सहज रुपमा अघि बढाउनका लागि बहस र विचार प्रवाह गर्नुपर्छ । मैले पहिल्यैदेखि त्यही गर्दै आएको छु । 

–यही कुरा त तपाईको पार्टी नेतृत्वलाई मन नपरेको होला, किन तपाईमाथि कारबाहीकै चरणमा पुग्यो एमाले ?

–अनुशासन आयोगले कारबाहीका लागि बुझाएको लिखित पत्रबारे मलाई जानकारी छैन । तर, आयोगका अध्यक्षले नै कारबाही सिफारिस गरिएको छ भनेकाले सायद यो कुरा साँचो होला । तर, पार्टी यसरी चल्दैन । बदलाको भावमा कुनै निर्णय भएमा त्यसले पार्टीलाई नै राम्रो गर्दैन ।

–तपाईमाथि नै पटक–पटक किन कारबाहीको कुरा उठ्छ ?

–पहिल्यैदेखि पार्टीभित्र मविरुद्ध बदलाको भाव राखिएकै हो । तर, यस्तो कदमले एमाले पार्टी र समग्र कम्युनिस्ट आन्दोलनलाई लाभ हुँदैन । वाम आन्दोलन बचाउनका लागि प्रस्ट अडान राख्ने विषयमा मेरो धारणा स्पष्ट छ । तर, अध्यक्ष ओली कामरेडका साथमा मसँगै लामो समय सँगै काम गरेका लडेका साथीहरू हुनुहुन्छ । त्यसैले यो वा त्यो बहानामा कारबाहीको प्रक्रिया अघि बढ्छ भन्ने मलाई लागेको छैन ।

 –एमालेभित्रको विवाद बढिरहँदा अब कम्युनिस्ट आन्दोलनको दिशा के हुन्छ ?

–यसलाई विवादभन्दा पनि म बहस भन्न चाहन्छु । बहस जुनसुकै पार्टीमा पनि हुन्छ । तर, अहिलेकै अवस्थामा एमालेको आगामी बाटो अप्ठ्यारो छ । त्यसैले मैले परिवर्तनका लागि प्रस्ताव गरेको हुँ । नेतृत्वले यसलाई सही ढङ्गले लिएमा कम्युनिस्ट आन्दोलन नयाँ गन्तव्यतर्फ जान्छ । नभए आन्दोलन नयाँ रुपमा अघि बढ्छ । आन्दोलनको स्वरुप कस्तो हुन्छ भन्ने कुरा भविष्यमै थाहा हुन्छ ।