• १५ वैशाख २०८२, सोमबार

लगानी बोर्डको व्यावसायिक रणनीति स्वीकृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि तयार पारिएको नयाँ रणनीतिक योजनालाई प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न ६१ औँ बैठकले स्वीकृत गरेको जनाइएको छ ।

बोर्ड प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार कार्ययोजनामा बोर्डको आयोजना बैङ्कमा रहेका विभिन्न परियोजनामध्ये ५७ वटा आयोजनालाई विभिन्न चरणमा विकसित गर्दै लैजाने उल्लेख छ । 

त्यसै गरी बोर्डमातहतको एकल विन्दु सेवा केन्द्रलाई पनि अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्ने कार्यालयको कामलाई प्रभावकारी बनाउन बोर्डमा सचिवस्तरीय दरबन्दी रहने व्यवस्था पनि स्वीकृत भएको छ । 

उपाध्यायका अनुसार उपसचिव तहसम्मका कर्मचारी बोर्डमातहत नै सुरु नियुक्त गर्ने गरी सङ्गठन पुनर्संरचना गर्ने प्रस्ताव पनि पारित भएको छ । सार्वजनिक निजी साझेदारी ऐनका विभिन्न प्रावधान कार्यान्वयन गर्न सो पारित प्रस्तावले ढोका खुलेको उहाँले बताउनुभयो । बोर्डमातहत अब विभिन्न निर्देशनालय पनि गठन गरिने छ । 

बोर्ड कार्यालय पुनर्संरचनाका लागि अब सङ्गठन संरचना व्यवस्थापनको खाका बनाइने उहाँले जानकारी दिनुभयो । 

बोर्डको बैठकमा अप्पर कर्णाली जलविद्युत् आयोजनाको लगानी संरचना परिमार्जन प्रस्ताव पेस गर्ने तय भए पनि समय अभावले सो विषयले प्रवेश नपाएको उहाँको भनाइ छ ।