• १५ वैशाख २०८२, सोमबार

जंगलको डढेलो गाउँ पुग्दा घर र गोठ जले

blog

डढेलोले नष्ट भएको घर ।

नवीनराज कुइकेल

लमजुङ, वैशाख १४ गते। क्व्होँलासोथार गाउँपालिका–२ मालिङस्थित सरानीको जंगलमा लागेको डढेलो गाउँ पस्दा घर र गोठ जलेर नष्ट भएको छ।

आइतबार दिउँसो ३ बजेर २० मिनेटको समयतिर जंगलबाट फैलिएको ढडेलो गाउँमा फैलिदा दुईतले घर र गोठ जलेर ध्वस्त जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो।

आगलागीबाट क्व्होँलासोथार–२ मालिङका ४५ वर्षीया सनबहादुर बिकको ढुङ्गा माटोले बनेको जस्ताको छाना भएको दुईतले कच्ची घर, जस्ताको छाना भएको भान्छा कोठा र खरको छाना भएको गोठ जलेर ध्वस्त भएको प्रहरी निरीक्षक तेलीले बताउनुभयो।

घर, गोठ र भान्छाकोठा पूर्ण रुपमा जलेर नष्ट भएको र घरमा के कति सामान रहेको भन्ने तत्काल नखुलेको उहाँले बताउनुभयो। उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट मालिङबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ।