• १५ वैशाख २०८२, सोमबार

कार्यालय प्रमुखलाई अख्तियारी नहुँदा मालपोतको सेवा ठप्प

blog

फाइल तस्बिर

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), वैशाख १४ गते। मालपोत कार्यालय मौलापुर, रौतहटका  कार्यालय प्रमुख कौशलकिशोर झा हाजिर भएको एक हप्ता हुन् लाग्दा समेत भूमि व्यवस्थापन तथा अभिलेख विभागले अख्तियारी प्रदान नगर्दा अधिकांश सेवा ठप्प भएको छ।

वैशाख ८ गते हाजिर भएको जानकारी विभागलाई गराउँदा समेत हालसम्म अख्तियारी नपाएको बताउनु हुँदै कार्यालय प्रमुख झाले अख्तियारी नपाएको कारण मुद्दा मामिला सम्बन्धी काम, दाखिल खारिज, नामसारी लगायतका सेवा ठप्प रहेको बताउनुभयो।

मौलापुर नगरपालिका वडा नं. ४ का अनिल कुमार साहले दैनिक कार्यालय धाइरहे पनि हुन् नसकेको गुनासो व्यक्त गर्नु भयो। नामसारी गराउन पुग्नु भएका कटहरिया नगरपालिका बिर्तिप्रस्टोकाका सेवाग्राही लालबाबु प्रसाद गुप्ता जग्गा नामसारी नहुँदा दिनहुँ आफ्नो कामको बारेमा सोधपुछ छाडेर कार्यालय प्रमुखको अख्तियारी आएको नआएको खोजबिन गर्नु परेको बताउनुभयो।

कार्यालय प्रमुख झाका अनुसार  दिनहुँ ५/७ जना सेवाग्राही काम हुन् नपाएर फर्किनु पर्ने बाध्यता रहेको बताउनुभयो। समयमा कार्य सम्पादन नहुनुमा स्थानीय स्तरका कार्यालय मात्र दोषी नभएर केन्द्रबाट नै बाधा अडचन आउने गरेको बताउनु हुँदै कार्यालय प्रमुख झाले हाजिर भएकै दिन अख्तियारी प्रदान गरेर सेवा सुचारु गराउने तर्फ विभागको ध्यान जान जरुरी रहेको बताउनुभयो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्यालका अनुसार एक दुई दिनमा अख्तियारी पठाउने तयारी भएको बताउनुभयो। शाखा अधिकृत कार्यालय प्रमुख रहेको कार्यालयमा विभागले अख्तियारी प्रदान गर्ने व्यवस्था रहेको छ।