• २० पुस २०८१, शनिबार

कसुर ठहर भएका जनप्रतिनिधिलाई निलम्बन गर्न निर्देशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकाले कानूनअनुसार निलम्बनकाे व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

विभिन्न मितिमा भ्रष्टाचार कसुरमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दयार गरेको र मुद्दा विचाराधीण रहेकै अवस्थामा ती व्यक्तिहरु वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएकाे थियाे ।

निर्वाचित हुनेमा कैलालीको मोहन्याल गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेकाले भ्रष्टाचार मुद्दा दायर छ ।

कैलालीकै मोहन्याल गाउँपालिका, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेकाले उहाँमाथि आरोपपत्र दायर गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका, वाड नं.९ का सुलक्षण माध्यामिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकाले उहाँमाथि पनि भ्रष्टाचारकाे मुद्दा छ ।

अछामको पंचदेवल विनायक नगरपालिका, वडा नं. ७ को कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक सुरतबहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेकाले उहाँमाथि पनि भ्रष्टाचार मुद्दा दायर छ ।

यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति र राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।