• १४ वैशाख २०८२, आइतबार

खरबुजाको विषादी अवशेष परीक्षण

blog

खरबुजाको नमुना परीक्षणका लागि बजार अनुगमन गरिँदै । तस्बिर: विष्णु

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख १४ गते । झापाको दमक नगरपालिकाले खरबुजासहित फलफूल र तरकारीको विषादी अवशेष परीक्षण गरेको छ । अहिले गर्मी अधिक रूपमा बिक्री हुने गरेको खरबुजामा विषादीको प्रयोग भएको हुनसक्ने भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजार अनुगमन गरेर नमुना परीक्षण गरिएको बताइएको छ ।

दमक नगरपालिका उपप्रमुख एवं स्थानीय बजार अनुगमन समिति संयोजक रेगिना भट्टराईका अनुसार केही समययता नियमित रूपमा फलफूल र तरकारीमा विषादी परीक्षण गर्न थालिएको हो । यसै क्रममा खरबुजाको परीक्षण गर्दा खान योग्य भेटिएको बताउनुभयो । उहाँले निरन्तर रूपमा अनुगमन गरिने पनि जनाउनुभएको छ ।

भारतीय बजारबाट समेत खरबुजा आउने गरेको र यसमा धेरै विषादी हुने गरेको उपभोक्ताको गुनासो आएपछि अनुगमन गरिएको उहाँले बताउनुभयो । बाहिर गरिएको गुनासोजस्तो विषादी भेटिएन, उहाँले भन्नुभयो ।  मानव स्वास्थ्यमा असर पर्ने किसिमका विषादीयुक्त तरकारी र फलफूल बिक्री वितरणमा स्थानीय सरकारले रोक लगाएको उहाँको भनाइ छ । 

यसभन्दा अघि पनि नगरपालिकाले सब्जी बजारमा अनुगमन गरेर विषादीको प्रयोग परीक्षण गरेको थियो । खरबुजाको बाहिरको भाग अत्यधिक चम्किएको वा प्लास्टिकजस्तै देखिन्छ भने, त्यसमा रसायन छर्किएको हुनसक्ने भएकाले होसियारी अपनाउन अनुरोध गरिएको छ । झापामा पछिल्लो समयमा खरबुजाको व्यावसायिक खेति हुँदै आएको छ ।