• १४ वैशाख २०८२, आइतबार

बौद्ध संस्कृति र कलालाई सुदृढ बनाउने अवसर

blog

भैरहवा समाचारदाता

भैरहवा, वैशाख १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबिचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताउनुभएको छ ।

नेपाल–चीन बौद्ध संस्कृति र कला विषयक दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको शनिबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीनबिचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताउनुभएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवर्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको छ । मुख्यमन्त्री आचार्यले यो सेमिनारले नेपाल र चीनबिचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्वशान्ति र बौद्धदर्शनको स्रोत हो । बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।”

मुख्यमन्त्री आचार्यले नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएकोमा जोड दिनुभयो । उहाँले सेमिनारले बौद्धदर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठुलो फाइदा लिन सक्ने बताउनुभयो । उहाँले लुम्बिनीलाई विश्वशान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार बौद्ध संस्कृति, कला र सम्पदाको संरक्षण तथा प्रवर्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।