बुटवल समाचारदाता
बुटवल, वैशाख १४ गते । रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा एक वर्षअघि फेला परेका बुद्धकालीन ऐतिहासिक महत्वका पुरातात्त्विक वस्तु संरक्षण गरिने भएको छ । गत वर्ष फेला परेका ती ऐतिहासिक सामग्री बुद्धकालीन करिब दुई हजार वर्ष पुराना हुन सक्ने अनुमान गरिएको छ ।
चारपाला सामुदायिक वनका अनुसार फेला परेका वस्तु खुला सङ्ग्रहालयका रूपमा सबैले हेर्न मिल्ने गरी संरक्षण गर्न लागिएको हो । बुटवल उपमहानगरपालिका–१२ मा रहेको चारपाला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतनाथ शर्माले वनक्षेत्रमा फेला परेका ऐतिहासिक पुरातात्त्विक सामग्री सङ्ग्रहालयका रूपमै संरक्षण गरिने जानकारी दिनुभयो । उहाँले यसका लागि यो वर्ष बजेट विनियोजन गरेको र अब काम सुरु हुने बताउनुभयो ।
गत वर्ष बौद्धकालीन समयको अनुमान गरिएका प्राचीन मूर्ति, दुई वटा कुवा, प्राचीन इँटा र ढुङ्गामा कुँदिएका कैयौँ आकृतिका मूर्ति फेला परेका थिए । शर्माले बौराहा खोलाको पूर्वोत्तर जङ्गलमा माटाका भाँडाका टुक्रा तथा चुरासमेत फेला परेको र केही वस्तु खाल्डो खनेर राखिएको अवस्थामा भेटिएको बताउनुभयो । अध्यक्ष शर्माका अनुसार चारपाला क्षेत्रमा फेला परेका केही पुरातात्त्विक वस्तु भने लुम्बिनीको सङ्ग्रहालयमा लगेर राखिएको छ । सङ्ग्रहालय बनाएर संरक्षण गर्न पर्यटन मन्त्रालयले बजेट उपलब्ध गराएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिका–१२ को किनारामा रहेको चारपाला सामुदायिक वन क्षेत्रको जोगीडाँडा, ठुलो पठार तथा सानो पठार क्षेत्र गरी करिब दुईदेखि तीन किलोमिटर र गोलाकारमा १० किलोमिटर क्षेत्रमा धेरैपहिलेदेखि नै ऐतिहासिक वस्तु फेला पर्दै आएको स्थानीयले बताएका छन् ।
स्थानीय रामप्रसाद भट्टराईले केही वर्षअघि बौराहा खोलाको बिचमा इनार पनि फेला परेको बताउँदै इनार संरक्षण गरेर राखेको बताउनुभयो ।
उहाँले सैनामैना क्षेत्र बुद्धकालीन सहर भएको तथ्य पाइने उल्लेख गर्नुभयो । त्यसको किनारामा ऐतिहासिक वस्तु फेला पर्नुले चारपाला वनक्षेत्र पनि बुद्धकालकै सहर रहेको हुन सक्ने उहाँको अनुमान छ । चारपाला वनमा १४ हजार उपभोक्ता छन् । वनको क्षेत्रफल दुई हजार २३ हेक्टर रहेको छ ।