बोमलाल गिरी
नवलपुर, वैशाख १४ गते । नेपालमा औलो नियन्त्रण प्रयासको सय वर्ष पुगिसकेको छ । औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार सन् २०२५ सम्म औलोमुक्त हुने नेपालको लक्ष्य छ तर भारतसहितका देशबाट भित्रिने औलोको दर कम नहुँदा नेपालका लागि लक्ष्य हासिल गर्न कठिन देखिएको छ । नवलपुरमा पछिल्लो चार वर्षको तथ्याङ्कले हरेक वर्ष औलोका बिरामी बढिरहेको देखाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा तीन जना बिरामी भेटिएकोमा चालु आवको नौ महिनामा सात जनामा औलोको सङ्क्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार कावासोती नगरपालिका–३ र ४ मा एक/एक जना, हुप्सेकोट–१ मा दुई जना, विनयीत्रिवेणी–३ र ४ मा एक/एक जना र बुलिङटार–५ मा एक जना गरी सात जनामा औलोको सङ्क्रमण देखिएको हो ।
फेला परेका सबै औलोका बिरामी पुरष रहेको र सबै आयातित रहेको कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा पछिल्ला केही वर्षमा देखिइरहेको औलो सङ्क्रमणको ९५ प्रतिशतभन्दा बढी भारतलगायतका देशबाट भित्रिने गरेको तथ्याङ्क छ । आव २०७७/७८ मा दुई पुरुष, आव २०७८/७९ मा एक महिला र पाँच पुरुष, आव २०७९/८० मा छ पुरुष, आव २०८०/८१ मा चार पुरुषमा औलो देखिएको कार्यालयले जनाएको छ । अहिलेसम्म देखिएका सबै आयातित भएको सुवेदीले बताउनुभयो ।
औलोका लक्षण
मध्यविन्दु प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. अविनास पोख्रेलका अनुसार सामान्य बिरामीमा दिनहुँ वा एक दिन बिराएर ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, थकित हुने हुन्छ । जाडो हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, मांसपेशी तथा जोर्नी दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिएमा औलो लागेको हुन सक्छ । यी लक्षण देखिए पनि नियमित अस्पतालमा जाँच गराउन आउने बिरामीको सङ्ख्या भने न्यून रहेको डा. पोख्रेलले बताउनुभयो । भारतसँगको खुला सिमानाका कारण औलो उन्मूलनमा चुनौती देखिएको डा. पोख्रेलको भनाइ छ ।
औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । मानिसमा सर्ने पाँच प्रकारका औलोमध्ये प्लाज्मोडिम फल्सिपारुम कडा खालको औलो हो भने समयमै यसको उपचार नगरे मानिसको ज्यान जान पनि सक्ने चिकित्सकको भनाइ छ । प्रादेशिक स्वास्थ्य कार्यालयका अनुसार औलोबाट बच्न घर वरपर पानी जम्ने खाल्टाखुल्टी भएमा पुर्ने, अनिवार्य रूपमा झुलको प्रयोग गर्ने, धूप वा लामखुट्टे भगाउने विद्युतीय सामग्रीको प्रयोग गर्ने र लामबाउले कपडाको प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ ।