ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १४ गते । जिल्ला हुलाक कार्यालय म्याग्दीले हुलाक सेवालाई छिटोछरितो बनाएको छ । चिठीपत्र र पार्सल सम्बन्धित ठाउँमा पुग्न कम्तीमा पाँचदेखि १० दिन लाग्नेमा अब भने एकै दिनमा पुग्ने व्यवस्था मिलाइएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो ।
हुलाक कार्यालयले बिहीबारदेखि डाँक ओसारपसार गर्न यातायातका साधन प्रयोग गरेर बेनीदेखि जोमसोमसम्म चिठीपत्र र पार्सल एकै दिनमा पुर्याएको हो । हुलाक सेवालाई विश्वसनीय र छिटोछरितो बनाउने उद्देश्यले बेनीदेखि गाउँपालिका केन्द्र, मुस्ताङ, बेनीदेखि पोखरा र पोखरादेखि बेनी हुँदै जोमसोम एकै दिनमा चिठीपत्र र पार्सल पुग्ने व्यवस्था मिलाइएको प्रमुख थापाले बताउनुभयो । बिहीबार बेनीमा दर्ता भएका चिठीपत्र र पार्सल एकै दिन जोमसोम पुगेको भन्दै उहाँले पोखरादेखि जोमसोमसम्म यसअघि चिठीपत्र पुग्न कम्तीमा १० दिन लाग्ने गरेको उल्लेख गर्नुभयो । हुलाक सेवा प्रभावकारी बनाउन जिल्ला हुलाक कार्यालय म्याग्दीले मुस्ताङ हुलाकसँग हालै मात्र समन्वय बैठक सम्पन्न गरेको उहाँले बताउनुभयो ।
हुलाक निर्देशनालय पोखराले पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग डाँकलाई सहज तवरबाट ओसारपसार गर्न सम्झौता गरेको उहाँले बताउनुभयो । यातायातका साधनबाट डाँक पुर्याउँदा जनशक्ति र समयको बचत हुनुका साथै पार्सल समयमा पुग्ने उहाँले बताउनुभयो । पोखराबाट बागलुङ हुँदै बेनी आएका चिठीपत्र यसअघि हलकाराले बोकेर विभिन्न स्थानमा भएका हुलाक कार्यालयमार्फत जोमसोम पु¥याउन आठ जना जनशक्ति परिचालन हुने गरेको उहाँले जानकारी दिनुभयो । अब भने गाडीले सिधै जोमसोम पु¥याउने भएकाले जनशक्ति र समयको बचत हुने उहाँको भनाइ थियो । डाँक बहाकका रूपमा काम गर्ने जनशक्तिले घर घरमा र कार्यालयमा चिठीपत्र र पार्सल पु¥याउने काममा लाग्ने भएकाले हुलाक सेवाप्रति नागरिकको विश्वास बढ्ने उहाँको भनाइ छ ।
जिल्ला हुलाक कार्यालयले म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिसँग डाँक बोक्ने सम्झौता गरेर सेवा प्रवाह गर्न थालेको हुलाक कार्यालयका प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अबदेखि जुनसुकै चिठीपत्र र पार्सल बेनीस्थित हुलाक कार्यालयमा दर्ता भएको दिनमै गाउँपालिका केन्द्रमा रहेका हुलाक कार्यालयमा पुग्ने छन् ।”
अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको हुलाक कार्यालयलाई गाउँपालिका केन्द्र पोखरेबगर र रघुगङ्गा–२, भगवतीमा रहेको हुलाक कार्यालयलाई गाउँपालिका केन्द्र मौवाफाँटमा स्थानान्तरण गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । मालिका र मङ्गला गाउँपालिकाको केन्द्रमा भने यसअघि नै हुलाक कार्यालय रहेका छन् । धवलागिरि गाउँपालिका–७ ताकममा रहेको हुलाक कार्यालयलाई गाउँपालिका केन्द्र मुना लैजाने तयारी भएको हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।