शिक्षामन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिएर रघुजी पन्त नयाँ शिक्षामन्त्री नियुक्त हुँदासम्म शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ । काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन २४ दिनदेखि निरन्तर जारी छ । शिक्षामा निजामती कर्मचारीसरह सेवा सुविधा दिने ग्यारेन्टी गर्नेलगायतका मागसहित शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएपछि देशभरका सार्वजनिक विद्यालय ठप्प छन् । कक्षा १२ को परीक्षा प्रत्यक्षसमेत प्रभावित भएको छ । सर्वोच्च अदालतले शिक्षकलाई तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन आदेश गरेको छ ।
देशभरका सरकारी विद्यालय नै बन्द भएको अवस्थामा सरकारसँग पटक पटक वार्ता भए पनि माग पूरा नभएको भन्दै शिक्षक महासङ्घले आन्दोलन निरन्तर जारी राखेका छन् । आन्दोलन कहिलेसम्म हुन्छ, कुनै यकिन छैन । पेसामध्येको सबैभन्दा पवित्र पेसा हो शिक्षण, शिक्षण पेसा अवलम्बन गर्दा शिक्षकले विद्यार्थीलाई के पढाउने ? के सिकाउने ? कस्ता विद्यार्थी उत्पादन गर्ने ? देशमा भ्रष्टाचार बढेको बढ्यै छ, देशमा बलात्कार, अशान्ति, कुशासन, गुण्डागर्दी, बेरोजगारीले सीमा नाघेको छ । यस्तो जटिल अवस्थाबाट मुलुकलाई कसरी निकास दिने भन्ने बेलामा भएका यस्ता प्रकारका आन्दोलनले मुलुकलाई फाइदा गर्दैन ।
डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, राजनीतिज्ञ, कर्मचारी, प्रहरी, सेना, कूटनीतिक व्यक्तित्व, व्यवसायी, उद्योगपति, सिकर्मी, डकर्मी, किसानलगायत सबै नागरिकसँग शिक्षकको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । शिशु कक्षादेखि, प्राथमिक तथा निम्न माध्यमिक र माध्यमिकदेखि उच्च माध्यमिक तह, स्नातक, स्नातकोत्तर, एमफिल, पिएचडीसम्म लगभग सबैसँग शिक्षकको नाता जोडिएको हुन्छ । शिक्षकको नाता घर, परिवार, टोल तथा समाजसँग त स्वाभाविक रूपमा जोडिने भइहाल्यो । शिक्षक कस्तो हुनु पर्छ ? शिक्षक समाज, टोल र घर परिवारसँग सोझै किन जोडिन्छ ? यो विषयलाई मध्यनजर गरेर शिक्षकले आफ्नो भूमिका निर्वाह गर्नु पर्छ ।
नेपाली परम्परा अनुसार सामान्यतया चिकित्सक तथा शिक्षकलाई देवताका रूपमा लिने चलन छ । शिक्षकहरू आर्थिकलगायतका व्यक्तिगत र पारिवारिक स्वार्थमा रहेका कारण पछिल्लो समयमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा संलग्न रहनुभएकाको गरिमा घटेको छ । शिक्षा र स्वास्थ्य लगभग पूर्ण रूपमा व्यापारीकरणको दिशामा गएका कारण यो क्षेत्रमा लाग्नेहरूलाई गुरु भन्न छाडिएको छ । आन्दोलनलाई निरन्तरता दिएर बसिरहने हो भने शिक्षकको गरिमा झन् घट्ने छ । आजका विद्यार्थीलाई भविष्यका कर्णधार मानिन्छ । यही अवस्था विद्यमान रहे के होला ? सरकारी विद्यालयको अवस्था पछिल्ला दिनमा सुध्रँदै गएको आभास भइरहेको थियो ।
आन्दोलन र शिक्षकका राजनीतिक गतिविधिले बिस्तारै नकारात्मक सन्देश प्रवाह हुन थालेको छ । यस्तो अवस्थामा अभिभावक र विद्यार्थीको ध्यान निजी विद्यालयप्रति जान सक्छ । साङ्केतिक रूपमा विरोध गरेर भए पनि विद्यालय खोल्नु पर्छ शिक्षकहरूले । कतिपय शिक्षक त निजी विद्यालय सञ्चालक पनि छन् । उनीहरूका लागि त फाइदै होला तर सरकारी विद्यालय बन्द गरेर निजी विद्यालय पोस्ने गतिविधिमा संलग्न शिक्षकले सरकारी विद्यालयको जागिर खाने हैसियत गुमाउँछ । नत्र भर्ना र परीक्षाको समय पारेर गरिएका यस्ता प्रकारका आन्दोलनले कस्तो प्रभाव पार्छ, सरकारी विद्यालयलाई ? यसो गर्दा नेपाली विद्यार्थी अध्ययनका लागि भारत, चीन तथा विदेशतिर जाने सम्भावना बढ्दैन र ? निजी विद्यालय मात्रै होइन निजी अस्पतालसमेत बन्द गरी सरकारीकरण गर्नु पर्छ भन्ने मान्यता राख्छ पङ्क्तिकार । शिक्षकहरू अलिकति भए पनि राष्ट्रवादी भएर प्रस्तुत हुनुस्, पार्टीको स्वार्थमा होइन, स्वतन्त्र नागरिक बन्ने हैसियत राख्नुस् ।
सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीको गुणस्तर निजीको तुलनामा त्यसै पनि कमै छ । यस्तो अवस्थामा आन्दोलन गर्दा सरकारी शिक्षा तहसनहस हुन्छ । शिक्षकहरू नैतिकताको पाठ पढाउने मुहान हुन्, उनीहरू धनभन्दा विद्या ठुलो भनेर विद्यार्थीलाई नैतिकताको पाठ पढाउँछन् । समाजका जिम्मेवार वर्ग हुन् । समाज गलत बाटोमा हिँड्न लागेको देखियो भने सही बाटोमा हिँडाउन प्रयत्न गर्ने सबैभन्दा ठुलो शक्ति हो, शिक्षक वर्ग । यस्तो वर्ग नै आन्दोलनमा लाग्ने हो भने संसारभर कस्तो सन्देश प्रवाह होला ?
शिक्षकले राजनीति गर्नै हुन्न । कुनै पनि राजनीतिक दलको सदस्यता लिनै हुन्न । शिक्षकले आफू सरकारी विद्यालयमा अध्यापन गराउने हुँदा आफ्ना छोराछोरी तथा परिवारका सदस्यलाई अनिवार्य रूपमा सरकारी स्कुलमै पढाउनु पर्छ । शिक्षकले व्यापार व्यवसायमा जोडिन मिल्दैन । शिक्षक नागरिक समाजको अगुवा पनि भएकाले स्वतन्त्र बसेर समाजमा भएका गलत क्रियाकलापलाई हटाउने प्रयासमा लाग्नु शिक्षकको दायित्व हुन्छ । कुनै पनि स्वार्थमा लागेपछि तटस्थ भएर समाजका लागि लाग्न सक्ने अवस्था आउँदैन, त्यही कारण शिक्षक तटस्थ बस्नु पर्छ भनिएको हो ।
रुपियाँ, पैसा, धन दौलत र प्रतिष्ठाका लागि भन्दा पनि नितान्त भविष्यका कर्णधार उत्पादनतिर लाग्नुपर्ने दायित्व भए पनि शिक्षक पछिल्लो समयमा स्वार्थले ओतप्रोत पूर्ण भए । समाजका लागि काम गर्न सकेनन् भन्ने पुष्टि हुने चरणमा छन् । शिक्षकले पढाएका विद्यार्थीमध्ये कतिपय भ्रष्टाचारी बनेर देश चुसिरहेका छन् । कतिपय स्वदेशमा रोजगारी नपाएर खाडी मुलुकको ५० डिग्री तापक्रममा काम गर्न विवश छन् । तिनीहरूले नै पठाएको पैसामा यहाँ भ्रष्टाचारीको रजाइँ छ । यस्तो अवस्थामा ‘शिक्षकहरूले मन्त्री कसले बनायो ? हामी जस्ता शिक्षकले ।’ ‘मन्त्री कसले खुस्काउँछ ? हामी जस्ता शिक्षकले’ भन्ने प्रकारका राजनीतिक नारा दिएर भाइरल हुँदै इज्जत र प्रतिष्ठा समाप्त पार्ने बाटोमा क्रियाशील छन् उनै शिक्षक । शिक्षकले तत्काल असली शिक्षक हुन आन्दोलन रोकेर, सरकारसँग हारेको अवस्था भए पनि तत्काल विद्यार्थीमाझ पुग्नु पर्छ । शिक्षकले सरकार वा कसैसँग हारेर केही बिग्रँदैन, नैतिक मान्छेले देशलाई जिताउने हो, परिवार र आफूभन्दा समाजलाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो । धेरै नै अन्याय परेको हो भने शिक्षकलाई दिइँदै आएका सेवा सुविधा बढाउन सरकारले कन्जुस्याइँ गर्नु हुन्न ।
शिक्षकलाई दोस्रो दर्जाको कर्मचारी मान्नु हुन्न । निजामती कर्मचारीसरह सेवासुविधा दिनु पर्छ । तत्काल आन्दोलनका कार्यक्रम स्थगित गरेर विद्यार्थीलाई योग्य बनाउने अभियानमा लाग्नु पर्छ । समाजलाई माथि उठाउने अभिभारा बोकेका शिक्षक आन्दोलनमा उत्रँदा सिङ्गो समाजले सकारात्मक रूपमा हेर्न सकेको छैन । अब पनि यही महिला शिक्षकको सारी पुरुष शिक्षकले लगाएर नाचिरहने हो भने बचेकुचेको नैतिकता पनि समाप्त हुने छ । शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाउनुभएको छ । बिनासर्त आफ्ना माग राखेर सम्बोधन हुने आशा बोकेर फर्कनु पर्छ । सरकारले पनि त्यसलाई हल्का रूपमा लिने होइन, समाजका ऐनामा फोहोर लाग्यो भने त्यसको भार राज्यले पनि बोक्नु पर्छ ।