• १४ वैशाख २०८२, आइतबार

‘ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिएको बताउनुभयो । 

कतिपय ट्रेडमार्कका विषयमा विवाद आउने गरेकाले यसको समाधानमा जोड दिनुपर्ने उहाँको धारणा थियो । यस किसिमका विवादका विषयमा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल र छिटो गर्नुपर्ने उहाँले बताउनुभयो । 

“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग गरेको छ,” उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठुलो सहयोग पुग्ने छ ।”

उहाँले गीत सङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूको सिर्जनाको संरक्षण आवश्यक रहेको उहाँको भनाइ थियो । विश्व बौद्धिक सम्पदा सङ्गठन (वाइपो) ले सन् २००१ देखि  विश्व आइपी दिवस मनाउन थालेको हो ।