सिराज खान
नेपालगन्ज, वैशाख १२ गते । भारतको कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्कारी हमलापछि यहाँस्थित नेपाल–भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा कडाइ सुरु गरेको छ ।
यहाँस्थित जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनिहरूको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बलले जनाएको छ ।
नाकाबाट आवागमन गर्ने सवारी साधनहरूमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरूबाट चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताउनुभयो ।
उहाँले नेपाल–भारतको नेपालगन्ज नाका पनि निकै संवेदनशिल मानिएकाले यो नाकामा चेकजाँच बढाउनुका साथै प्रहरी र एसएसबीको टोलीले निरन्तर ग्रामीण क्षेत्रहरूमा समेत गस्ती गरिरहेको बताउनुभयो ।
यो नाकामा आवागमन गर्ने हरेक व्यक्तिसँग विस्तृत सोधपुछ गर्नुका साथै कडा चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सीमापारी भारतीय रुपैडिया प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ददनसिंहले बताउनुभयो ।
उहाँले केन्द्रबाट नै सीमा नाकामा कडाइ गर्ने र आवागमन गर्ने हरेकमाथि कडा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम नाकामा कडाइ गर्नुका साथै गस्ती र पेट्रोलिङ बढाइएको बताउनुभयो ।
भारतको कश्मीरको पहलगाममा भएको आतङ्कारी हमलामा एक जना नेपाली नागरिकसहित २८ जना पर्यटकको हत्या भएको थियो । सोही घटनापछि भारतले आफ्नो देशसँग सीमा जोडिएका सबै नाकामा हाइ अलर्ट र कडाइ सुरु गरेको जनाएको छ ।