मकवानपुर समाचारदाता
हेटौँडा, वैशाख १२ गते । नेपाल भाषा खलःको हेटौँडा उपमहानगरपालिका–१ स्थित भिन्तुनापथमा भवन निर्माण सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले भवनको बिहीबार शिलान्यास गर्दै प्रदेश सरकारले सबै भाषा, धर्म, संस्कृति र समुदायको संरक्षण र प्रवर्धनकालागि काम गरिरहेको बताउनुभयो ।
प्रदेश सरकार सबै भाषा र संस्कृतिको संरक्षण र प्रवर्धनमा सचेत र प्रतिबद्ध छ, मुख्यमन्त्री लामाले भन्नुभयो, “प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन थालेको छ ।” प्रदेशका पूर्वमन्त्री एकलाल श्रेष्ठले भवन निर्माणमा सरकारको सहयोगसँगै समुदायको पनि योगदान रहनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेश सरकार र समुदायको साझेदारीमा ३३ लाख ३५ हजार रुपियाँको लागतमा भवन निर्माण सुरु गरिएको हो । भूकम्पले भवन जीर्ण भएपछि पुरानो भवन भत्काएर १५ धुर जग्गामा भवन बनाउन सुरु गरिएको नेपाल भाषा खलःका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । चार तलाको भवन निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिएको उक्त भवनका भुइँतला व्यापारिक प्रयोजनका लागि बनाइने भएको छ । नयाँ बन्ने भवनमा कार्यालय, सङ्ग्रहालय, सभा हललगायतका संरचना रहने छ ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मुख्य सचेतक गोविन्द लम्साल, प्रदेश सभा सदस्य रामकुमार पहाडीलगायतको उपस्थिति रहेको थियो ।