• ११ वैशाख २०८२, बिहिबार

छिमेकी प्रधानमन्त्रीबिच टेलिफोन वार्ता

आतङ्कवादविरुद्ध नेपाल–भारत एक

blog

काठमाडौँ, वैशाख ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु काश्मीरमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान लिने गरी भएको आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग बुधबार टेलिफोन वार्ता गर्दै उहाँले जम्मु काश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको हो । 

फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले त्यस हमलामा बहुमूल्य जीवन गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । भारतका प्रधानमन्त्री मोदीले पनि उक्त आतङ्कवादी हमलामा एक युवा नेपाली नागरिकको मृत्यु भएकामा दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । साथै उहाँले उक्त क्रूर आतङ्कवादी हमला गर्ने अपराधीलाई न्यायको कठघरामा उभ्याउन भारत सरकार प्रतिबद्ध रहेकामा जोड दिनुभयो । आतङ्कवादविरुद्धको लडाइँमा भारत र नेपाल एकसाथ उभिएको टेलिफोन वार्ताका क्रममा दुई प्रधानमन्त्रीले प्रस्ट पार्नुभयो ।

जम्मु काश्मीरको पहलगाममा भएको उक्त हमलाका क्रममा घाइते भएका पीडितप्रति गहिरो समवेदनासहित नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभएको छ । उहाँले आतङ्कवादका सबै यस्ता कार्यको नेपालले कडा निन्दा गर्ने पनि औँल्याउनुभएको छ । त्यस घटनामा ज्यान गुमाएका नेपाली नागरिकको सवालमा आवश्यक सहयोग तथा समन्वयका लागि पनि उहाँले भारत सरकारसँग आग्रह गर्नुभयो । 

‘निर्दोषमाथिको आक्रमण निन्दनीय’

सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै जम्मु काश्मीरको पहलगाममा निर्दोष पर्यटकमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपालले कडा रूपमा निन्दा गरेको छ । वक्तव्यमा भनिएको छ, “हामी शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको लागि हार्दिक कामना गर्दछौँ । नेपाल यस दुःखको समयमा भारत सरकार र जनतासँग दृढ ऐक्यबद्धतामा उभिएको छ ।”

नेपाल सरकार दृढ र सैद्धान्तिक अडान अनुरूप नेपालले सबै प्रकारका आतङ्कवादको निन्दा गर्ने औँल्याउँदै आतङ्कवादका यस्ता जघन्य कार्यलाई कुनै पनि आधारमा उचित मान्न नसकिने वक्तव्यमा उल्लेख छ । 

यसैबिच परराष्ट्रमन्त्री डा. आरजु राणाले काश्मीरको पहलगाममा भएको जघन्य आतङ्कवादी हमलाबाट स्तब्ध र दुःखी रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत घटनाको भत्र्सना गर्दै भन्नुभएको छ, “हामी आतङ्कवादको यो कार्य र निर्दोषहरूको ज्यान लिने अर्थहीन हिंसाको कडा शब्दमा निन्दा गर्छौं ।” 

नेपाल यस दुःखद समयमा भारत सरकार र जनतासँग दृढ ऐक्यबद्धतामा उभिएको पनि उहाँले प्रस्ट पार्नुभएको छ । भारतस्थित नेपाली दूतावासले सुदीपको उक्त हमलामा मृत्यु भएको पुष्टि गरेको छ । त्यहाँ घुम्न गएका अन्य नेपाली नागरिक पनि सम्पर्कमा आउन थालेको दूतावासले जनाएको छ ।

भारत–पाकिस्तान सीमाक्षेत्रमा अवस्थित जम्मु काश्मीरमा २६ जनाको ज्यान लिने गरी भएको उक्त आतङ्कवादी हमला सन् २००० पछिको सबैभन्दा गम्भीर आक्रमण भएको मानिएको छ । घटनालगत्तै बुधबार भारतीय सुरक्षा बलले आक्रमणकारीको खोजीलाई तीव्र बनाएको जनाएको छ । साउदी अरबको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीले भ्रमण छोट्याउँदै बुधबार स्वदेश फर्केर सुरक्षा अधिकारीसँग घटनाको विवरण लिँदै संलग्नलाई तत्काल खोजी गर्न निर्देशन दिनुभएको छ । 

जम्मु काश्मीरको सुन्दर पर्यटकीय क्षेत्रमा घुमफिर गरिरहेका पर्यटकमाथि मङ्गलबार अपराह्न नजिकैको जङ्गलबाट निस्केका आतङ्कवादीले गोली प्रहार गरेका थिए । घटनास्थल श्रीनरबाट करिब ९० किलोमिटर टाढा रहेको थियो । उक्त घटनाको हालसम्म कुनै पनि विद्रोही समूहले जिम्मा लिएको छैन । उक्त घटनाको विश्वभर भत्र्सना गरिएको छ । 

यसैबिच पाकिस्तान सरकारले उक्त घटनामा आफ्नो देशको कुनै पनि संलग्नता नभएको प्रस्ट पारेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले भारतको आन्तरिक विद्रोहको परिणाम स्वरूप उक्त घटना भएको अनुमान गर्नुभएको छ ।