• १० वैशाख २०८२, बुधबार

गर्मी बढेसँगै घाममा नहिँड्न सुझाव

blog

काठमाडौँ, वैशाख १० गते । दुई दिन अघिसम्म हल्का वर्षाले चिसिएका नेपालका भूभाग यतिबेला ह्वात्तै बढेको तातोका कारण हपहपिएका छन् । कैलालीकी सविना चौधरी भन्नुहुन्छ, “गर्मीले दिउँसो बाहिर हिँड्न नसकिने भएको छ, बच्चालाई स्कुल पठाउन पनि गाह्रो भएको छ ।” कैलालीमा स्थानीय अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगिसकेको छ । 

नेपालगन्जको अवस्था उस्तै तातो छ । कालोपत्रे सडकमा हिँड्न नसकिने गरी तातो हावा चलिरहेको छ । अधिकतम तापक्रमले ४० डिग्री सेन्टिग्रेडमाथिको उकालो काट्दै छ । भैरहवा, चितवन, पर्सातिर पनि अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेडतिर लम्कँदै गरेको जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तापक्रम नक्साङ्कनले औँल्याएको छ । 

मधेश प्रदेशका जनकपुर, सिराहा, सप्तरीतिर पनि ४० डिग्री सेन्टिग्रेड आसपास तापक्रम पुग्दै छ । वीरेन्द्रनगर र दिपायलतिर ३९ डिग्री सेन्टिग्रेड अधिकतम तापक्रम पुगिसकेको छ । पूर्वको विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ क्षेत्रमा हल्का बदलीसँगै फाट्टफुट्ट वर्षाले मौसम चिस्याइलै रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । ती भूभागमा ३० डिग्री सेन्टिग्रेड आसपासको तापक्रम छ । उहाँले भन्नुभयो, “केही दिन अघिसम्म वर्षाले थोरै भए पनि तातोमा शितलो राहत दिएको थियो, अबका केही दिन यस्तै तम्तमाइलो तातो बढ्ने देखिएको छ ।” उहाँका अनुसार काठमाडौँमै पनि तापक्रम उच्च बन्दै गएको छ । यहाँ मङ्गलबार दिउँसो ३२ डिग्री सेन्टिग्रेड आसपास तापक्रम रेकर्ड भएको छ । उहाँका अनुसार यतिबेला मध्य र पश्चिम तराईका भूभागमा तापक्रम अत्यधिक बढ्दो क्रममा छ । 

यसै हिसाबले तापक्रम बढ्ने हो भने केही दिनभित्रै तराई र तराई छोएका भूभागमा तातो हावाको लहर (लु) चल्ने सम्भावना रहेको महर्जनले बताउनुभयो । जब तापक्रमले ४० डिग्री सेन्टिग्रेडमाथिको उकालो चढ्छ, तब तातो हावा चल्छ । त्यस्तो मौसमी अवस्थालाई लु चलेको भनिन्छ । 

यस साताभर वर्षा हुने सम्भावना नदेखिएकाले तापक्रम थप बढ्ने सम्भावना औँल्याउँदै आमनागरिकले सतर्कता अपनाउनुपर्ने सुझाव महाशाखाले दिएको छ । कतिपय तराईका भूभागमा लुको झल्को दिने गरी तातो हावा चल्न थालिसकेको स्थानीयवासीले बताएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित तातो हावाको लहर अर्थात् लुको प्रकोपबाट आमनागरिकको जिउधनको सुरक्षाको पहल थालेको जनाएको छ । आमनागरिकलाई लुबारे सचेत गराउँदै यसबाट बच्ने उपायबारे सचेतना सामग्री सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरिएको छ । 

जस अनुसार अत्यधिक गर्मी बढेका बेला दिउँसो घरबाट बाहिरका काममा सरिक नहुन सुझाइएको छ । खेतबारीमा बर्खेबाली लगाउने याम भएकाले अधिकांश किसान दिउँसो खेतबारीमा जानुपर्ने भए पनि त्यसो नगरी बिहान वा बेलुकाको शीतलमा काम गर्न प्राधिकरणले भनेको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले तराईका जिल्लाका नागरिक अधिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “घरभित्रै बस्नू, बाहिर रुखको छहारीमा बस्नू र समस्या देखिएमा अस्पतालमा जानुको विकल्प लु लागेका बेला छैन ।” 

स्थानीय पालिकाले स्थानीय विपत् संयन्त्रलाई सक्रिय बनाउँदै आधारभूत अस्पताल तथा जिल्ला अस्पतालसँग समन्वय गर्न उहाँले सुझाउनुभयो । स्थानीयलाई जतिखेर पनि लु लाग्न सक्ने भएकाले त्यहाँको एम्बुलेन्स सेवालाई सक्रिय बनाउने र उद्धार गर्र्नैपर्ने भएमा जिल्ला विपत् व्यवस्थापन समितिले हेलिकोप्टरबाट उद्धार गरेर राम्रो अस्पतालमा पुर्‍याउन लैजाने व्यवस्था मिलाउन सकिने जानकारी उहाँले दिनुभयो । 

घरकै शुद्ध चिसो पानी पिऊँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गर्मी मौसम सुरु भएपछि लुको अधिक सम्भावना रहेकाले शरीरलाई शीतल बनाइराख्न सुझाव दिनुभयो । उहाँले थप्नुभयो, “त्यसका लागि बाहिर पसलका चिसो पेय पदार्थ हैन, घरकै शुद्ध चिसो पानी तथा पेयपदार्थ जतिसक्दो धेरै पिउने बानी बसालौँ ।” उहाँका अनुसार राम्रो स्वास्थ भएकालाई लु लाग्ने सम्भावना र लागेमा त्यसको जटिलता कम हुन्छ तर पहिलेदेखि नै स्वास्थ्य कमजोर रहेका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी लुको उच्च जोखिममा हुन्छन् ।

उहाँका अनुसार तातो हावा चल्दा लुको अधिक जोखिम भएकाले दिउँसो घाममा बाहिर निस्कन हुँदैन । विद्यालयले पनि यस्तो बेला शीतल वातावरणमा अध्ययन अध्यापन गराउने व्यवस्था गर्नु पर्छ । गर्मी बढ्दा दीर्घरोगीले पहिलेदेखि खाइरहेका औषधीले गर्मी बढाउने भन्दै खान मन गर्दैनन् तर नियमित औषधी खुवाउन परिवारले सघाउनु पर्छ । बाहिर हिँडेका बखत लुले समातिहाल्यो भने चिसो पानी खाने, चिसोको सम्पर्कमा जाने, हावामा बस्ने र अन्य लक्षण अनुसारको उपचार गर्नुपर्ने सुझाव डा. बुढाथोकीको छ । बाहिर हिँड्दा पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, छाता ओढ्ने र घरबाटै बोकेको शुद्ध पानी पिउनु पर्छ । उहाँले भन्नुभयो, “सबैभन्दा महत्वपूर्ण बिनाकाम बाहिर भौँतारिन छाडौँ, घरमै परिवारका साथमा बसौँ र एक अर्काको ख्याल गरौँ ।”