• १५ असार २०८१, शनिबार

राजस्वले तोक्यो करको दर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २४ गते । आन्तरिक राजस्व विभागले आयकरको सीमा र त्यसमा लाग्ने करको दर सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयकरको सीमा हेरफेर गरिएको जानकारी दिनुभएको थियो ।

सोहीअनुसार विभागले सोमबार करको सीमा र लाग्ने दर सार्वजनिक गरेको हो । विभागका अनुसार अविवाहित वार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्नेका लागि १ प्रतिशत कर निर्धारण गरिएको छ तर विवाहितको हकमा छ लाख रुपियाँसम्म कमाउँदा १ प्रतिशत कर तिरे पुग्छ । 

त्यसैगरी पाँच लाख रुपियाँभन्दा बढी र सात लाख रुपियाँसम्म आम्दानी गर्ने अविवाहित र छ लाख रुपियाँभन्दा बढी आठ लाख रुपियाँसम्म आम्दानी गर्ने विवाहितको १० प्रतिशत कर लाग्नेछ । साथै सात लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्ने अविवाहित र आठ लाख रुपियाँभन्दा बढी र ११ लाख रुपियाँसम्म आम्दानी गर्ने विवाहितले २० प्रतिशत कर तिर्नुपर्नेछ ।


एकल व्यक्ति वार्षिक १० लाखदेखि २० लाख रुपियाँसम्म र विवाहित ११ लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्नेले ३० प्रतिशत कर बुझाउनु पर्नेछ । साथै २० लाखभन्दा माथि आम्दानी गर्ने एकलले ३६ प्रतिशत र विवाहितको हकमा २० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा थप २० प्रतिशतका दरले कर लाग्नेछ ।

३० लाख रुपियाँ करयोग्य आय हुने अविवाहितले वार्षिक सात लाख ४५ हजार रुपियाँ र विवाहितको हकमा सात लाख १६ हजार रुपियाँ आयकर बुझाउनु पर्नेछ । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्त भरणबापत आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा एक प्रतिशत कर लाग्ने छैन ।