• ८ वैशाख २०८२, सोमबार

बौद्धिक पुनर्जागरणको आवश्यकता

blog

पुनर्जागरण फ्रान्सेली शब्द हो । जसको शाब्दिक अर्थ पुनरुत्थान, पुनर्जन्म वा पुनर्जीवन हुन्छ । यसले कला, साहित्य, विज्ञान, वास्तुकला र मानव सभ्यताको विभिन्न पक्षमा नयाँ सोच र सिर्जनात्मकतामा आधारित पुनर्जागरणलाई जनाउँछ । पुनर्जागरणको मूल उद्देश्य मानवता, वैज्ञानिक सोच र व्यक्तिगत स्वतन्त्रताको प्रवर्धन गर्नु थियो अर्थात् मानव सोच, कला र ज्ञानलाई मध्ययुगीन सीमाबाट मुक्त गर्नु थियो । धर्मयुद्ध, मानवताको प्रचार र व्यापार विस्तार आदि पुनर्जागरणका प्रमुख कारण थिए । यसको विशेषता भनेको शास्त्रीय पुरातन विचार र उपलब्धिलाई पुनर्जीवित गर्ने र तिनीहरूबाट पार लगाउने हो । पुनर्जागरणलाई मध्ययुग (५–१५ औँ शताब्दीसम्मको अवधि) पछि युरोपमा भएको सांस्कृतिक, बौद्धिक, र कलात्मक आन्दोलनको रूपमा लिन सकिन्छ । 

विश्वमा पुनर्जागरण भएको अनुमानित समय भने सन् १३०० देखि हो । युरोपमा अन्धविश्वास, धार्मिक अन्धता र कट्टरताका कारण नागरिक अधिकारको हननका साथै प्राचीनकालीन सभ्यता र समुन्नतिमा ह्रास आएको थियो । त्यसविरुद्धको सङ्घर्षमा इटालेली प्रायद्वीपमा बस्ने गाथ, लोंबार्ड, फ्रैंक, अरब, नारमन, जर्मन आदि विभिन्न जातिहरूको संलग्नता थियो । इटलीको पुनर्जागरणपछि विश्वभर ऐतिहासिक र सांस्कृतिक आन्दोलनहरू भए । पुनर्जागरण अभियान इटालीबाट सुरु भई युरोपीय औपनिवेशिक शक्तिहरूद्वारा शासित अमेरिकी, अफ्रीकी र एसियाली देशहरूमा फैलियो । १४ औँ देखि १७ औँ शताब्दीसम्म युरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा अभूतपूर्व प्रगति हासिल गरे । त्यसैलाई बौद्धिक पुनर्जागरण भनियो ।  

पुनर्जागरणको मुख्य आधार मानवतावादको विकास थियो । पुनर्जागरण विद्वान्हरूले अध्ययनमा मानवतावादी विधि प्रयोग गरे र कलामा यथार्थवाद र मानव आत्माको खोजी गरे । पुनर्जागरणको फलस्वरूप भौगोलिक खोजीको क्रममा अमेरिका, भारत, फिलिपिन्स र न्युजिल्यान्ड जस्ता देश पत्ता लागे । त्यतिबेलै कोलम्बसले अमेरिका पत्ता लगाए भने मार्कोपोलोले चीन पत्ता लगाए । यस अवधिमा बौद्धिक, सामाजिक र वैज्ञानिक गतिविधिमा क्रान्ति देखियो ।  

पुनर्जागरण समाज, संस्कृत, कला, साहित्य, विज्ञान र शिक्षालगायतका क्षेत्रमा नयाँ सोच, चेतना र विकासको अवधारणा हो । यो एक प्रकारको ‘पुनरुत्थान’ हो, जहाँ पुराना परम्परागत सोचहरूलाई चुनौती दिँदै नयाँ दृष्टिकोण र मूल्यको विकास हुन्छ । पुनर्जागरण परिवर्तन मात्र होइन, यो सोच, दृष्टिकोण र प्रवृत्तिको परिमार्जन हो । यसको सुरुवात हामीले आफ्ना दृष्टिकोण र कार्यशैलीमा सुधार गरेर गर्न सक्छौँ । यो आवश्यकता केवल सरकारको मात्र होइन, सबै तह र तप्काका नागरिकको हो । नेपालमा पुनर्जागरण देशको इतिहास, परम्परा र साहित्यका विभिन्न कालखण्डमा समाज, शिक्षा, साहित्य, धर्म र राजनीतिक क्षेत्रमा देखिएका छन् । 

नेपालमा भाषा साहित्यको माध्यमबाट पुनर्जागरणको सुरुवात भएको मानिन्छ । मोतिराम भट्टले विसं १९५० मा सुधासागर पत्रिकाको प्रकाशन गरि चेतना फैलाए । त्यसपछि विसं १९५८ मा शिक्षा र मानवतावादका प्रवर्तक जय पृथ्वीबहादुर सिंहको पहल र प्रयासमा गोरखापत्र प्रकाशित भएको थियो । नारी मुक्ति आन्दोलनकी अग्रणी योगमाया न्यौपानेले नारीप्रतिको हिंसा, उत्पीडन (जस्तैः सतीप्रथा) विरुद्ध आवाज उठाई नारीहरूमा जागरण फेलाएकी थिइन् । नेपालमा प्रजातन्त्रको प्राप्तिपछि विभिन्न मिडियाको विकासले आमनागरिकमा चेतना फैलाएका छन् । 

लिच्छविकाल (इसं ४००–७००) लाई विशेष गरी बौद्धिक र सांस्कृतिक विकासको सुनौलो युग मानिन्छ । यस अवधिमा वास्तुकला, मूर्तिकला र शिलालेखद्वारा बौद्धिक विकास झल्किन्छ । मल्लकाल (इसं १२००–१७६९) नेपालमा साहित्य, कला र धर्मको पुनर्जागरणकालको रूपमा परिचित छ । यस समयमा कविहरू र धार्मिक सुधारकले समाजमा जागरूकता ल्याएका थिए । विशेषगरी भक्तिकालका साहित्यकारले समाजमा नैतिक चेतना फैलाएका थिए । १८ औँ शताब्दीमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि नयाँ ढङ्गले राष्ट्रियताको विकास भयो । वास्तविक बौद्धिक पुनर्जागरण भने १९ औँ र २० औँ शताब्दीको मध्यमा देखिन थालेको हो । नेपालमा यसको स्वरूप र विकास फरक ढङ्गले अघि बढ्यो । 

पुनर्जागरणको प्रभावले राणा शासनको निरङ्कुशताविरुद्ध राजनीतिक जनचेतना बढ्न थाल्यो । शुक्रराज शास्त्रीले गङ्गालाल श्रेष्ठ तथा केदारमान व्यथितसँग मिलेर राजनीतिक चरित्रको नेपाल नागरिक अधिकार समिति नामक एक गुप्त सङ्गठन खोलेर धार्मिक प्रवचनमार्फत राजनीतिक चेतना फैलाएका थिए । राणा शासनविरूद्ध क्रान्तिलाई नेतृत्व गर्न प्रजापरिषद्को स्थापना (विसं १९९३) हुनु पुनर्जागरणकै परिणाम थियो । भूपू प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वमा प्रजापरिषद् पार्टी गठन गरेर भएको सामाजिक आन्दोलन आधुनिक समाजको राजनीतिक चेतनामा भएको विकासको अर्को आधारबिन्दु थियो । यो आन्दोलन नेपालको सामाजिक र राजनीतिक चेतको कोसेढुङ्गा साबित भयो । राजनीतिक दल र आधुनिक समाजको चेतनाको आधारबिन्दु यही आन्दोलन थियो ।  

जयतु संस्कृतम आन्दोलनले राणाविरोधी बौद्धिक चेतना सिर्जना गरायो । सदरको तीनधारा संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले शिक्षामा सुधारका लागि भूगोल, इतिहास, अर्थशास्त्र जस्ता विषय समावेश गर्नु पर्छ भनेर विसं २००४ असार १ देखि आन्दोलन सुरु गरे । निरङ्कुश राणा शासकलाई यी मागसहितको विद्रोह मन परेन र विद्यार्थीउपर दमन र देश निष्कासन गर्न थाले । शासकले केही छात्रलाई पढाइ छोड्न विवश पारे । राणाहरूले दमन गरेपछि यी विद्यार्थी बनारस गई राणा विरोधी आन्दोलनमा सरिक भए । जनचेतनाको लहर थाम्नै नसकिने गरी अघि बढेको थियो ।   

नेपालमा सामन्तवाद विरोधी राजनीतिक विचारधारा बोकेर दुई धारको नेतृत्वमा राजनीतिक जागरण पलाएको पाइन्छ । जस अन्तर्गत पहिलो, भारतको सन् १९४५ को स्वतन्त्रता सङ्ग्रामबाट प्रेरित लोकतान्त्रिक धार थियो । यस धारको नेतृत्व विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए । त्यसै गरी दोस्रो, रुसको सन् १९१७ को अक्टोबर क्रान्तिबाट उत्प्रेरित प्रगतिशील धार थियो । मानवलाई समता र समानतामा आधारित समाजवादमा पुर्‍याउने सपनाद्वारा ओतप्रोत यो राजनीतिक जागरण अभियान पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ बाट थालनी भएको थियो । बौद्धिक तथा राजनीतिक जागरणका यी दुई धारले आमजनतामा जागरण ल्याई राणा शासनको पतन गराएको थियो । त्यसमा नेपाली पैदल सेना र धेरैकालदेखि शक्तिको रोलक्रम खोसिएका असन्तुष्ट राणा परिवारको समेत साथ र सहयोग रहेको थियो । 

२००७ सालको प्रजातान्त्रिक क्रान्तिले नेपालमा बौद्धिक गतिविधिमा ठुलो प्रभाव पारेको थियो । यसपछि खुला समाजमा शिक्षा, प्रेस स्वतन्त्रता र बौद्धिक विचारको आदानप्रदान भयो । राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना नेपालमा पुनर्जागरणकै ठुलो उपलब्धि मान्न सकिन्छ । जसले स्वतन्त्रता, समानता र लोकतन्त्रप्रति चेतनाको विकास गरायो । पुनर्जागरणले नेपाली जनतामा स्वतन्त्रता र अधिकार प्राप्तिको चेतना जागृत गरायो । विसं २००७ को प्रजातन्त्र स्थापनामा पुनर्जागरणकालीन विचारधाराले भूमिका खेलेको थियो ।

पुनर्जागरणको अर्थ समाजलाई अन्धविश्वास, रूढिवादी परम्परा र पछ्यौटेपनबाट मुक्त गराई प्रगतिशील, ज्ञानप्रधान र वैज्ञानिक दृष्टिकोणतर्फ उन्मुख गराउनु हो । नेपालमा पुनर्जागरणको प्रभाव र महत्व नेपाली समाज, संस्कृति, शिक्षा र राजनीतिक क्षेत्रमा देखा परेको छ । पुनर्जागरणलाई परम्परागत सामाजिक, सांस्कृतिक र राजनीतिक संरचनाहरूलाई चुनौती दिने, नयाँ चेतना ल्याउने र आधुनिकतामा रूपान्तरण गर्ने प्रक्रिया भनेर बुझ्न सकिन्छ । नेपालमा पुनर्जागरणले परम्परागत संरचनालाई चुनौती दिँदै आधुनिकतामा रूपान्तरण ल्याएको एउटा महìवपूर्ण चरणको रूपमा लिइन्छ । यसको प्रभावले नेपालको सामाजिक र सांस्कृतिक इतिहासलाई नयाँ दिशामा अगाडि बढाएको छ । 

बौद्धिक पुनर्जागरणको महत्व नेपाल र नेपाल जस्ता गरिब र विकासका दृष्टिले पछाडि परेका सम्पूर्ण विश्वलाई ज्ञान, कला र मानवतावादी मूल्यहरूको नयाँ युगतर्फ डोर्‍याउनुमा रहेको छ । पुनर्जागरणले आधुनिक समाजको आधारशिला तयार गर्छ । यसले मानवतावाद, व्यक्तिगत स्वतन्त्रता र वैज्ञानिक चिन्तनको महत्वलाई अघि बढाउँछ । समाजलाई धर्म, परम्परा र अन्धविश्वासको जन्जालबाट बाहिर निकाल्दै आधुनिक युगतर्फ उन्मुख गराउँछ । यसले विश्वलाई विज्ञान, प्रौद्योगिकी, कला र मानव सभ्यताको नयाँ युगतर्फ डोर्‍याउँछ । पुनर्जागरणले मध्ययुगको धार्मिक र परम्परागत सोचलाई चुनौती दिँदै मानवता, विज्ञान, कलाको पुनरुत्थान गर्छ । 

नेपालमा अझै पनि बौद्धिक पुनर्जागरणको आवश्यकता देखिएको छ । पुनर्जागरण भनेको केवल कला र साहित्यको क्षेत्रमा मात्रै होइन सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रहरूमा व्यापक सुधार र परिवर्तनको आवश्यकता पनि हो । यो पुनर्जागरण क्रमिक प्रक्रिया हो, जसले नेपालको समाज र संस्कृतिलाई विश्वस्तरीय बौद्धिक विकासको यात्रामा सामेल गरिरहेको छ । नेपालमा पुनर्जागरणले शिक्षा, संस्कृति, समाज, राजनीति र साहित्य क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने, समाजलाई परम्परागत मानसिकताबाट आधुनिक सोचतर्फ रूपान्तरण गर्ने र यो परिवर्तनले नेपाललाई विश्वसामु नयाँ चेतना र पहिचान गराउँछ । नेपालमा पुनर्जागरणले पुरातन सामाजिक संरचनालाई चुनौती दिँदै समाजलाई प्रगतिशील, शिक्षित र समानतामूलक बनाउने दिशामा प्रभाव पार्ने, राष्ट्रको विकासमा मार्गदर्शन गर्ने र आधुनिक नेपालको निर्माणमा आधारशिला स्थापित गर्ने छ ।

नेपालमा पुनर्जागरणका सम्भावनालाई मूर्त रूप दिन शिक्षा, प्रविधि र सामाजिक चेतना बढाउनु आवश्यक छ । यसका लागि राज्य, नागरिक समाज र प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण छ । सही दिशा र प्रयास भएमा नेपालमा पनि पुनर्जागरणको नयाँ युग सुरु हुन सक्छ । नेपालमा पुनर्जागरणले ऐतिहासिक, सांस्कृतिक, शैक्षिक, र सामाजिक रूपमा महत्वपूर्ण प्रभाव पारेको छ । त्यसै कारणले यसको सान्दर्भिकता रहन गएको छ । 

देशको सङ्कट अवस्था तथा बेथितिको समाधान; राज्यले अँगाली आएको राज्य व्यवस्थाको नियमन र मुस्कानसहितको कूटनीतिक सम्बन्ध स्थापना गर्नु आजको प्रमुख आवश्यकता हो । राज्यका गतिविधिबारे क्रिटिकल विचार राख्ने, प्रश्न सोध्ने र आफ्नो स्थानबाट स्वतन्त्र किसिमले बौद्धिक दृष्टिकोण दिन सक्ने पुनर्जागृत बौद्धिकले मात्रै सङ्कट र बेथितिहरूको समाधान गर्छ । त्यसैले बौद्धिक पुनर्जागरण राज्यको विकासका लागि पहिलो आवश्यकता हो । तसर्थ, शिक्षित युवा वर्गलाई बौद्धिक जागरण अभियानमा संग्लग्न गराउनु पर्छ । नेपालमा नयाँ स्वरूपको बौद्धिक जागरण कठिन भए पनि नयाँ पुस्ताका अगाडि त्यस दिशामा अघि बढ्नुको विकल्प छैन ।