गोरखापत्र समाचारदाता
ललितपुर, वैशाख ८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा युवा उत्सव (सेलिब्रेसन) गर्ने भएको छ ।
युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको पार्टी महासचिव शङ्कर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित गरिएको पार्टी सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
यसको तयारी स्वरूप आइतबार नेकपा एमालेबाट काठमाडौँ उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरिएको थियो । भेलालाई पार्टी महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय प्रमुख भानुभक्त ढकाललगायतले सम्बोधन गर्नुभएको थियो ।
यसै सन्दर्भमा जनसङ्गठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसङ्गठनका तर्फबाट युवा सहभागिताका विषयमा छलफल गरी योजना बनाइएको ढु्ङ्गेलले जानकारी दिनुभयो ।
११ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम सफल बनाउन पार्टी महासचिव शङ्कर पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको मुख्य समूह बनेको छ । त्यसै गरी पार्टी सङ्गठन विभाग सचिव माधव ढुङ्गेल संयोजक रहेको सहजीकरण टिम बनाइएको छ ।