• ६ वैशाख २०८२, शनिबार

ज्येष्ठ नागरिकलाई आश्रय दिन निर्माण गरिएको भवन प्रयोगविहीन

blog

बागलुङ नगरपालिका–४ निरयघाटमा रहेको प्रयोगविहीन अवस्थामा रहेको एक तले बागलुङ वृद्धाश्रमको भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख ६ गते ।
निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि बागलुङ वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण गरिएको बागलुङ वृद्धाश्रम अझै पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।

करिब दुई करोड २६ लाख ५४९ रुपियाँ लागतमा निर्माण गरिएको वृद्धाश्रम सञ्चालनमा ल्याउन नसक्दा आश्रम बाहिर घाँसले भरिएको छ भने भवन व्यवहारिसे जस्तै बनेको छ ।

घरबार विहीन र परिवारबाट हेलत्व भोग्न बाध्य भएका ज्येष्ठ नागरिकलाई आश्रय दिने उद्देश्यले निर्माण गरिएको भवनमा त्यस्ता ज्येष्ठ नागरिक नआउँदा सञ्चालन गर्न नसकिएको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङ नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम वृद्धाश्रम निर्माण गरिएको थियो । २०७९ पुस ५ गते निर्माण कम्पनी जुम्ली निर्माण सेवा प्रालिले निर्माण सम्झौता गरी २०८० असार २५ गते सम्पन्न गरेको थियो ।

“नगरपालिकाले हेलाहोचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा सुविधासहित आश्रय दिन निर्माण वृद्धाश्रम निर्माण गरिएको हो ।” उहाँले भन्नुभयो, ‘‘उहाँहरू नआउँदा यसलाई सञ्चालनमा ल्याउन सकेका छैनौँ ।”

वृद्धाश्रममा बस्न कोही पनि नआएपछि भवन मानव सेवा आश्रमलाई प्रयोग गर्न दिइने उहाँको भनाइ छ ।

“मानव सेवा आश्रमको भवन निर्माण भइरहेको छ, भवन नहुँदा उहाँहरूलाई केही समस्या भएको छ ।” नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “आश्रमको भवन निर्माण सम्पन्न नहुँदासम्म कार्यबिधि बनाएर आश्रमलाई प्रयोग गर्न दिन्छौँ ।”

भवन एक तलाको रहेको छ । निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण गरिएको हो । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा सहित भवनमा २० कोठा रहेका छन् ।

भवनमा शौचालय र स्नानगृहको राम्रो व्यवस्था रहेको छ । भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सेवा सुविधा एकै तलामा हुनेगरी भवन निर्माण गरिएको नगरपालिका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।

बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवा आश्रम र वृद्धाश्रम दुवैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको थियो ।