• ६ वैशाख २०८२, शनिबार

बेलौरीमा डुबानको समस्या, निराकरणका लागि थालिएन पूर्व तयारी

blog

गत वर्ष बाढीबाट जोगिन नहरमा बाढीपीडितको बास । तस्बिर : भवानी दत्त भट्ट

भवानी दत्त भट्ट
बेलौरी (कञ्चनपुर), वैशाख ६ गते ।
कञ्चनपुरको बेलौरीका अधिकांश क्षेत्र बर्सेनि डुबानमा पर्दै आएका छन् । यस वर्ष पनि बेलौरीमा डुबानको समस्या निराकरणका लागि पूर्व तयारी भने थालिएको छैन ।

बेलौरीनगरपालिका वडा नम्बर ८ कलकत्ता बजार वर्षायाममा डुबानमा पर्दै आएको छ । बर्सेनि डुबानको समस्या झेल्दै आएको कलकत्ता बजारमा यस वर्ष पनि पूर्व तयारी नगरिँदा जोखिम बढ्ने देखिएको हो ।

विपद न्युनीकरणमा नगरपालिका र वडा कार्यालयले चासो नै नदिँदा डुबानको जोखिम रहेको स्थानीय झन्कर रानाले बताउनुभयो । गत वर्ष कलकत्ताका स्थानीयले दस लाखभन्दा बढीको क्षति बेहोर्नु परेको थियो ।

बाढीसँगै भएको डुबानले कृषकहरूले अच्काली क्षति बेहोरेसँगै महिनौ दिन सडकमा बास बस्नु परेको गुनासो गरिएको छ । वर्षा याममा पथरिया नदी, सुतली नदीले कलकत्ता डुबानमा पर्दै आएको छ ।

डुबान समस्या निराकरण गर्न जनप्रतिनिधिले भने चासो नै नदिएको गुनासो गरिएको छ । डुबानको समस्या समाधानका लागि वडाध्यक्षलाई पटक पटक आग्रह गरिए पनि स्रोत साधनको अभाव भन्दै चासो नदिएको स्थानीय लोकेश रानाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘गत वर्ष परिवारसँगै डेढ महिना नहरको डिलमा पाल टाँगेर बस्नुपर्‍यो, यस वर्ष पनि सोही पीडा दोहोरिनेमा चिन्तित छु ।’’ उहाँले भन्नुभयो ।

कलकत्तामा दुई हजारभन्दा बढी घरधुरी डुबानमा पर्दै आएका छन् । सुतिया नदिले बजार नै बर्सेनि डुबानमा पर्दै आएको छ । पानी निकास हुन नपाउँदा यहाँका बासिन्दाले महिनौँ दिन उकालो ठाउँमा घर छोडेर बस्नुपर्ने बाध्यता रहिआएको छ ।

बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विष राम रानाले भने बजेट अभाव र अन्य निकायले चासो नदिँदा यस वर्ष पनि कलकत्तावासीले डुबानको समस्या झेल्नुपर्ने बताउनुभयो । असार–साउनमा पर्ने अविरल वर्षाले कलकत्ता बजार डुबानमा पर्दै आएको छ ।

नगरपालिका बाट बजेट आउँदैन उहाँले भन्नुभयो, ‘‘ठाउँ ठाउँमा तटबन्ध बाँध्नुपर्ने छ ।’’

एकातिर खोला र नालाको सफाइ नगरिँदा विगत ५–६ वर्ष यता बजार डुबानमा पर्दै आएको उहाँले बताउनुभयो । सिङ्गघानाला, किचैया नाला, जब्दा र वडा नम्बर ९ भएर बग्ने खप्टी नालामा माटो भरिएकाले सफाइ नहुँदा कलकत्ता डुबानमा पर्दै आएको उहाँले बताउनुभयो ।

जसका लागि सिँचाइ कार्यालयमा अनुरोध गरिए पनि सुनुवाइ नभएको वडाध्यक्ष राना बताउनुहुन्छ । यता बेलौरी नगरपालिकाले भने यस वर्ष केही भए पनि विपद न्युनीकरणका लागि नाली सफाइ अभियान थालिने जनाएको छ ।

बेलौरी नगरपालिकाका विपद सम्पर्क व्यक्ति अशोक पाण्डेयले आगामी महिनासम्म बेलौरीका केहि नाला सफाइ अभियान थालिने बताउनुभएको छ । कलकत्ता क्षेत्र भने विभिन्न कारणले डुबानमा पर्दै आएको बताउनुहुँदै पाण्डेयले आगामी दिनमा माटोले भरिएका नाला सफाइ गरिने बताउनुभयो । 

बेलडाँडीको इमलियामा माटोको बाँध भत्केर चौधर नदीले वडा नं १० को बन्दाजाला, भुडा, भुडागौँडी, सडक घाट, शिवनगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा बाढी पसेको थियो । यस वर्ष चौधर नदीमा बाध बाँध्ने कार्य भइरहेकाले बाढी बस्तीमा नपस्ने पनि विपद सम्पर्क व्यक्ति अशोक पाण्डेयले बताउनुभयो । 

तर पथरिया, सुतिया सहितका नदीमा तटबन्ध नगरिँदासम्म डुबानको समस्या कायम रहने भन्दै स्थानीयहरू चिन्तित छन् ।