• १३ असोज २०८१, आइतबार

चितुवाको आक्रमणबाट महिला घाईते, चितुवा नियन्त्रणमा

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ २३ गते । कैलालीमा घाईते चितुवाको आक्रमणबाट एक महिला घाईते हुनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित लठुवा सामुदायिक वनमा सोमबार विहान घाँस काट्न गएका स्थानीय विस्नादेवी बोहरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।  

आक्रमणबाट ५४ बर्षीया बोहराको अनुहार, हात र घाँटीमा चोट लागेको छ । उहाँको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ । बोहरा खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

आक्रमणको खवरसँगै घटना स्थलमा सुरक्षाकर्मी र वनका कर्मचारी पुगेका थिए । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले घाईते अवस्थामा चितुवा भेटिएपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक समुह बोलाएको बताउनुभयो । 

प्राविधिक टोलीले चितुवालाई बेहोस बनाई सवडिभिजन वन कार्यालय सुखडमा राखी सामान्य उपचार गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आउनुभएका पशु चिकित्सक चित्रबहादुर खड्काले चितुवालाई दुईवटा गोली लागेको जानकारी दिनुभयो । 

घाईते महिलाले प्रतिकार गर्दा हँसियाले चितुवाको टाउकोमा प्रहार गरेको बताउनुभयो । चितुवाको टाउकोमा गहिरो घाउ भएको छ । बाहिरी घाउ उपचारबाट निको भएपनि शरीरभित्र रहेको गोलीका कारण चितुवा वच्ने सम्भावना निकै कमरहेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँच्ने सम्भावन एकदम कम छ, बाँचीहाले पनि अपाङ्ग भएर बाँच्छ ।’  

केही समयअघि घोडाघोडी नगरपालिका वडा १० स्थित तुलसीपुर सामुदायिक वन नजिक पासोमा पार्दा वयस्क चितुवाको मृत्यु भएको थियो । यस क्षेत्रमा बर्षेनी चोरी शिकारीबाट वन्यजन्तुको ज्यान जानेगरेको संरक्षणकर्मीहरुको भनाई छ । सोमवार नियन्त्रणमा लिएको चितुवाको समेत चोरीशिकारीले गोली हानेको हुनसक्ने संरक्षकहरुको भनाई छ ।