काठमाडौँ, वैशाख ५ गते । बिहीबार देशका विभिन्न भूभागमा भएको भीषण वर्षाले बाढी, पहिरोसहितका प्राकृतिक विपत्ति निम्त्याएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार कर्णाली, कोशी, गण्डकी र बागमती प्रदेशका ललितपुर, सिन्धुपाल्चोक, जनकपुर, पोखरा, जाजरकोट, रुकुमलगायतका स्थानमा भीषण वर्षा रेकर्ड भएको छ ।
जसका कारण ती क्षेत्र आसपास बाढीपहिरो तथा चट्याङले जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार अहिलेसम्म बाढी र पहिरोले मानवीय क्षति भएको विवरण आएको छैन तर बाढीपहिरोले देशका विभिन्न भूभागको राजमार्ग अवरुद्ध हुँदा आवागमन प्रभावित बनेको छ । त्यस्तै भीषण वर्षाका कारण काठमाडौँदेखि पश्चिम नेपाल उड्ने आन्तरिक उडान प्रभावित बन्न पुगेको छ । कतिपय स्थानमा प्रमुख राजमार्गमा लेदोसहितको पहिरो खस्दा राजमार्ग ठप्प बन्न पुगेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोले बाटो बन्द भएका छन् । अन्यत्र केही स्थानमा पनि त्यस्तै छ भन्ने खबर छ ।” काभ्रेको पाँचखालमा लेदोसहितको पहिरो खस्दा अरनिको राजमार्ग बन्द भएको छ । उता जुम्ला र हुम्लामा बाढीपहिरोले सडक बन्द भएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार विगत २४ घण्टामा झापा, ललितपुर, सिन्धुपाल्चोक, धनुषा र स्याङ्जामा भीषण वर्षा भएको छ । उहाँले भन्नुभयो, “देशका अधिकांश भूभागमै हल्कादेखि मध्यम पानी परेको छ । बिहीबार अपराह्न भने कोशी, बागमती र मधेश प्रदेशमा अलि बढी वर्षा भएको थियो ।”
त्रिभुवन विमानस्थलबाट पश्चिम नेपाल जाने हवाई रुट पोखरा, भैरहवा क्षेत्रमा वर्षा गराउने प्रणाली सक्रिय भएकाले उडान केही समय अवरुद्ध बन्न पुगेको थियो । पश्चिमतिरबाटै पानी पार्ने प्रणाली पूर्वतिर सर्दै जाँदा ती भेगमा गड्याङगुडुङ र चट्याङसहितको वर्षा बिहीबार अपराह्न भएको थियो । महाशाखाले हिमाली भेगको हुम्लास्थित एयरपोर्ट क्षेत्रमा हल्का वर्षा भएको जनाएको छ । त्यसदेखि माथिल्लो भेगमा जल तथा मौसम विज्ञान विभागको वर्षा मापन स्टेसन छैन । माथिल्लो भेगमा भीषण वर्षासहित बाढीपहिरो आएको भए पनि त्यहाँ कति पानी प-यो भन्ने थाहा हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।