• ६ जेठ २०८१, आइतबार

किवी खेतीमा आकर्षण

blog

समृद्ध कर्णाली एग्रोर्फम प्रा.लिले गुराँस गाउँपालिका–७ लालीकाँडामा गरेको किवी खेती । तस्बिर–कमल शर्मा

कमल शर्मा

दैलेख, जेठ २३ गते । किवी खेतीतर्फ दैलेखका किसानको आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै छन् । जिल्लाको भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् । 

भैरवी गाउँपालिका –७ का  राजेश कँडेलले आफ्नो अध्ययनको विषयसँगै व्यावसायिक रूपमा किवी खेती सुरु गरिएको बताउनुभयो । उहाँले कर्णाली प्राविधिक शिक्षालयबाट कृषि बाली विज्ञान अध्ययनपश्चात् किवी खेती सुरु गरेको बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षा पढेका युवालाई तालिम दिएको र तालिमपश्चात् दैलेख जिल्लामा गएर आएपछि व्यावसायिक रूपमा खेती गर्न सुरु गरेको बताउनुभयो ।

अघिल्लो वर्ष ९० केजी किवी उत्पादन भएको र प्रतिकेजी तीन सयका दरले विक्री गरेको बताउँदै यो आर्थिक वर्षमा दुई क्विन्टलसम्म उत्पादन हुने जानकारी दिनुभयो । भैरवी गाउँपालिकाका–७ र ६ का ३० जना भन्दा बढी किसानले किवी खेती सुरु गरे पनि १० जनाले भने तीन सयभन्दा बढी बिरुवा रोपेको बताउनुभयो ।

उहाँले दिएको जानकारीअनुसार तीनचुले हिमाली वागवानी पशु तथा कृषि सहकारीमार्फत कृषि विकास कार्यालयबाट किवी ब्लक कार्यक्रमबाट १० लाख र सहकारीको १० लाख र  प्रदेश सांसद विकास कोषमार्फत् १९ लाख बराबरको सिँचाइ योजना निर्माण गरी किवीको व्यवसायिक खेती सुरु गरेका छाैँ । 

गुराँस गाउँपालिका –७ मा समृद्ध कर्णाली एग्रोफर्म प्रा.लिले समेत व्यावसायिक किवी खेती सुरु गरेको छ । समृद्ध कर्णाली एग्रोफर्म प्रा.लिका सञ्चालक सदामसिहं राठौरले नौ सय किवीको बिरुवा रोपिएको बताउनुभयो । उहाँले अहिले फर्ममा पिलर हान्ने कामहरू भइरहेको बताउनुभयो । कृषि विकास कार्यालयको साझेदारीमा १० लाख रुपियाँसहित फर्ममा ६५ लाख बराबरको रकम खर्च गरिएको बताउनुभयो । उहाँले भन्नुभयो अहिले पाँच जनालाई रोजगारी दिएका छाैँ । 

कृषि विकास कार्यालय दैलेखका प्रमुख नगेन्द्र थापाले जिल्ला भर १८ दशमलव पाँच हेक्टरमा किवी खेती गरिएको बताउनुभयो । उहाँले एउटा किवीको बिरुवा रोपेको चार वर्षपछि सुरु हुने एक बिरुवाबाट बर्सेनि ४० देखि ५० केजीसम्म उत्पादन लिन सकिने बताउनुभयो । उहाँले पछिल्लो समय किसानबाट किवीको बिरुवाको माग अत्यधिक आउने गरेको केही बिरुवा कृषि कार्यालयबाट वितरण गरेको बताउनुभयो ।