• २१ असार २०८१, शुक्रबार

तत्कालै मन्त्री परिवर्तनको सम्भावना कम

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, जेठ २३ गते । सत्ता गठबन्धनका शीर्षनेताहरु तत्कालै मन्त्री परिवर्तन नगर्ने निष्कर्षमा पुगेका छन् । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठका अनुसार सरकारमा भएका मन्त्रीलाई फर्काउने र नयाँ राख्ने निर्णय भए बमोजिम कार्यान्वयन भने हुन्छ । 

एकीकृत समाजवादीले श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणी चौधरीलाई शहरी विकास मन्त्रालय, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या र हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सहभागी गराउने निर्णय गरेको थियो । 

यसैगरी, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृतिमन्त्री प्रेम आलेमगर, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई सरकारबाट फिर्ता गर्ने जनाइएको थियाे । 

“आजै शपथ ग्रहणको समय के कति भन्ने खबर आइसकेको छैन । एकीकृत समाजवादीको भागमा परेको मन्त्रालय बमोजिम कार्यान्वयन हुन्छ । प्राविधिक रुपमा समय यता उता हुन सक्छ, तर यो कार्यान्वयन चाहिँ हुन्छ ।”, श्रेष्ठ बताउनुहुन्छ । 

सत्ता गठबन्धनको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सामान्य छलफल मात्रै भएको बताउनुभयो । 

यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक सूर्य किरणले पनि गठबन्धनमा मन्त्री हेरफेर आजै भने नहुने बरु, विस्तारै हुनसक्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।