• ३ वैशाख २०८२, बुधबार

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

blog

फाइल तस्बिर ।

किएभ (युक्रेन), वैशाख १ गते । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमबार भएको रुसी आक्रमणमा चार वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

यो आक्रमण अघिल्लो दिन छिमेकी सुमी क्षेत्रमा भएको आक्रमणपछि भएको हो, जहाँ २५ भन्दा बढीको ज्यान गएको थियो । खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जसलाई राति ड्रोनद्वारा पनि निशाना बनाइएको थियो ।

खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले रुसी सेनाले कुपियान्स्क सहरमा गोलाबारी गरेको बताउनुभयो । “तोपको गोलाबारीका कारण ६८ वर्षीय पुरुष र ६१ वर्षीया महिलाको मृत्यु भएको छ,” उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो । “रकेट आक्रमणबाट ७७ वर्षीया महिला र ५२ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।”

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्दा रुसी सेनाले खार्किभको धेरै भाग कब्जा गर्ने प्रयास गरेको थियो, तर युक्रेनी सेनाले ती क्षेत्र फेरी फिर्ता लिएको थियो । हाल पुनः सीमावर्ती क्षेत्रमा रुसी गतिविधि बढेको देखिएको छ ।

त्यसैगरी, युक्रेनी अधिकारीहरूले जनाएअनुसार रुसले आइतबार राति युक्रेनमाथि ६२ वटा ड्रोनद्वारा आक्रमण गरेको थियो, जसमा दक्षिणी सहर ओडेसामा ११ जना घाइते भएका छन् ।  रासस/एएफपी