• ६ वैशाख २०८२, शनिबार

वैदेशिक रोजगारीका नाममा ठगी उद्धारका लागि अपिल

blog

इनरुवा समाचारदाता

इनरुवा, चैत ३० गते । सुनसरीबाट वैदेशिक रोजगारीका लागि दुबई पुगेका तीन युवाले आफूहरूलाई रोजगारदाताले शारीरिक तथा मानसिक यातना दिएको गुनासो गरेका छन् । सरसफाइको काम गर्ने भन्दै दुबई पुगेका उनीहरूले कामभन्दा बढी शारीरिक तथा मानसिक यातना भोग्नु परेको गुनासो गरेका हुन् ।

पीडितमध्येका एक अशोक शर्माले आफूलाई एक महिनादेखि एक छाक मात्रै खान दिएर राखेको, सधँै काम नदिएको, काम दिएको दिन १६ घण्टासम्म काममा लगाएको गुनासो गर्नुभयो । उहाँले यसरी एकै दिन १६ घण्टा काम गर्न नसक्ने भनेपछि यातना दिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “महिना दिनदेखि हामीलाई काम नदिएकाले उद्धारका लागि हारगुहार गरेका हौंँ ।” 

उनीहरूलाई सुभाष श्रेष्ठ भन्ने एजेन्टले सरसफाइको काममा लगाइदिने भन्दै वैदेशिक रोजगारीमा पु-याएको पीडितले बताएका छन् । सुनसरीको इनरुवा नगरपालिका–९, बबियाका २६ वर्षीय रञ्जित शर्मा, ३३ वर्षीय अशोक खत्वे, २५ वर्षीय दिपेश खत्वेलगायत पाँच जनालाई जनही दुई लाख र दुई लाख ५० हजार रुपियाँसम्म लिएर सुभाष श्रेष्ठ भन्ने व्यक्तिले दुई महिनाअघि दुबई पठाएका थिए । 

हालसम्म दुई जनाको उद्धार भए पनि अझै तीन जनाले रोजगारीमा जानुअघि सम्झौतामा भनिएको जस्तो दैनिक आठ घण्टा काम र हप्तामा एक दिन बिदा पाउन नसकेको गुनासो गरेका छन् । 

इनरुवा नगरका प्रमुख केदार भण्डारीले उनीहरूको उद्धारका लागि पहल भइरहेको प्रतिक्रिया दिनुभयो । सुरक्षित आप्रवासन कार्यव्रmम (सामी) मार्फत उद्धारको पहल थालेको भण्डारीको भनाइ छ । पीडित परिवारका सदस्य जोगिन्द्र शर्माले पीडित भोकभोकै बसेकाले उनीहरूको स्वास्थ्यमा असर पर्ने र ज्यानसमेत जोखिममा रहेकाले तत्काल उद्धारका लागि आग्रह गर्नुभयो ।