गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३० गते । नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबारबाट दुई वटा द्वन्द्वप्रधान नेपाली चलचित्र ‘पीताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन । कृषा चौलागाई निर्देशित ‘पीताम्बर’ केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देललगायतको अभिनय रहेको छ ।आफ्नो परिवारको एक महिलामाथि भएको अत्याचारविरुद्ध बदला लिन त्यसै परिवारका पुरुष पात्रले निर्वाह गरेको कथा हो पीताम्बर ।
चलचित्रमा बालकलाकार आर्नव घिमिरे, प्रयुसदत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) को समेत अभिनय रहेको चलचित्रको निर्माताका रूपमा विशाल चौलागाईं हुनुहुन्छ । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, आशिष अविरल र बाबुल गिरीको सङ्गीत रहेको छ । सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएका चलचित्रले देशैभर १७० सो पाएको छ ।
त्यस्तै निर्देशक सौरभ चौधरीद्वारा निर्देशित चलचित्र ‘कर्मा’ ले करिब १५० सोमा प्रदर्शन भइरहेको छ । चलचित्रले द्वन्द्व, ड्रामा र सस्पेन्सको सम्मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ । बाबुको हत्यापछि छोराले बदला दिने विषयवस्तुलाई चलचित्रमा उतारिएको छ । चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक चौधरी आफैँले लेख्नुभएको हो । चलचित्रमा भाष्कर स्वाँरको सङ्गीत निर्देशन, कविराज गहतराजको नृत्य, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।