• ६ वैशाख २०८२, शनिबार

चितवनको विकास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवन जिल्लाको विकास निर्माणका योजना प्रस्ताव गर्दै चितवनको प्रतिनिधिमण्डल ।

नारायणगढ समाचारदाता

नारायणगढ, चैत ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नारायणगढ–मुग्लिङ सडकको वैकल्पिक मार्गको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्न माग गरिएको छ । सत्ता साझेदार कांग्रेस र एमालेका चितवनबाट गएको प्रतिनिधिमण्डलले बिहीबार साँझ प्रधानमन्त्रीलाई भेटी चितवनको विकास योजना प्रस्तुत गरेको जनाइएको छ ।

योजनामा हरेक वर्ष वर्षामा दुःख दिइरहने नारायणगढ मुग्लिन सडकको वैकल्पिक मार्ग अघिसार्ने योजना प्राथमिकतासाथ अघि सारेर बजेट व्यवस्था गर्न, नारायणगढ–मुग्लिङ सडकसहित आठ वटा दीर्घकालीन र १५ वटा अल्पकालीन योजना ल्याउन माग गएिको छ । 

प्रतिनिधिमण्डलमा सहभागी कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आफूहरूले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका योजना आव २०८२/८३ को बजेट र योजनामा पार्न आग्रह गरेको जानकारी दिनुभयो ।  

“नारायणगढ–मुग्लिङ सडक देशकै लाइफलाइन हो । यो सडक हरेक वर्ष जसो पहिरोले अवरुद्ध हुँदा देशले धेरै सास्ती भोग्नु प¥यो । यो अब नदोहोरियोस् भन्न विकल्प माग गरेका हौँ,” सभापति कोइरालाले बताउनुभयो । 

यसका साथै सप्तगण्डकी बहुद्देश्यीय परियोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्न, त्रिशूली–हुग्दी–शक्तिखोर बहुद्देश्यीय योजना विस्तृत अध्ययन गरी कार्यान्वयन गर्न, भारत र चीन जोडिने छोटो बाटो केरुङ–मलेखु–भरतपुर–माडी–ठोरी लोकमार्ग निर्माण गर्न, भरतपुर अस्पताललाई मेडिकल कलेजका रूपमा स्थापना गरी एमबिबिएसको पढाइ सुरु गर्न, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर अध्ययन प्रतिष्ठानका रूपमा विकास गर्ने जस्ता दीर्घकालीन विकास निर्माणका योजना अघि सार्न माग गरिएको छ । 

यस्तै माडी सोमेश्वर गढी लिच्छाविकालीन समयको भारतसँगको व्यापारको नाका रहेकाले हाल बागमती प्रदेशभित्र भारतसँग जोडिने भन्सार नाका नभएकाले यसलाई अघिसार्न, नेपालमै रोजगारी दिन सकिने गरी दक्ष जनशक्ति तयार गर्न चितवनमा बहुप्राविधिक शिक्षालय एवं नवप्रवर्तनका लागि चितवन आविष्कार केन्द्र स्थापना गर्न पनि माग गएिको छ । 

यस्तै प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष नारायणी, राप्ती र रिऊ तटबन्धनका लागि पर्याप्त बजेट विनियोजन गर्न, भरतपुर विमानस्थल विस्तारका लागि भएको योजनालाई पूर्णता दिन, भरतपुर महानगरपालिका र कालिका नगरपालिकाको चव्रmपथका लागि पर्याप्त बजेटको व्यवस्था गर्न, चितवन जिल्लास्तरीय चव्रmपथको विस्तृत सम्भव्यता अध्ययन, भरतपुरदेखि भण्डारासम्मको उत्तराखण्डको सडक सम्पन्न गर्न बजेट, ठोरीदेखि माडी, धु्रवघाट, घोसरघाट, नारायणी नदी हुँदै नवलपरासीतर्फ जाने तराई मधेश हुलाकी सडकलाई पर्याप्त बजेटको व्यवस्था गर्न, भण्डारा, मलेखु चेपाङ मार्ग स्तरोन्नति तथा कार्य सम्पन्न गर्न बजेट विनियोजन जस्ता तत्काल गर्नुपर्ने योजना प्रस्ताव गरेका छन् । 

माडीस्थित धार्मिक एवं पर्यटकीय क्षेत्र अयोध्याधाम, सोमेश्वरगढी, गोद्दक, वाल्मीकि आश्रमलगायतका क्षेत्रको संरक्षण र संवर्धन गर्न माडी पर्यटन विकास बोर्ड गठन, पवित्र तीर्थस्थल आदिप्रयाग देवघाटधामलाई व्यवस्थित पूर्वाधार निर्माण गर्न, कृषि उपजको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि माग गरिएको छ । 

भेटमा प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माणमा विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलले जनाएको छ । “प्रधानमन्त्रीले सरकारको योजनामा पारेर चितवनको विकास गराउने विश्वास दिलाउनुभएको छ,” प्रतिनिधिमण्डलका प्रतिनिधिमध्येका एक नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भन्नुभयो ।

प्रतिनिधिमण्डलमा सहभागी नेकपा (एमाले) का अध्यक्ष कमल पाठक प्रधानमन्त्री ओली चितवनका विकासमा चिन्तित रहनुभएको बताउनुभयो ।