• ३१ चैत २०८१, आइतबार

भूमिहीनका समस्या समाधानतर्फ

blog

तस्बिर : राजन रावत भूमि आयोग र जनप्रतिनिधिबिचको छलफल कार्यक्रम ।

हुम्ला समाचारदाता

हुम्ला, चैत ३० गते । जिल्लामा भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका समस्या समाधानको सुरुवात गरिएको छ । शुक्रबार भूमि समस्या समाधान आयोग हुम्लाले आयोजना गरेको जनप्रतिनिधिसँगको जिल्लास्तरीय राय सुझाव सङ्कलन गर्न सञ्चालन गरिएको कार्यक्रम आयोगले आगामी तीन महिनाभित्र समस्या समाधानको कार्यक्रम गरिने जनाएको हो । 

काम सुरुवात गरेको बताउँदै भूमि समस्या समाधान आयोग हुम्लाका अध्यक्ष नरबहादुर रोकायाले अब सधँैका लागि जिल्लाबाट भूमिको समस्या समाधान हुने किसिमले काम हुने दाबी गर्नुभयो । जिल्लामा भूमिहीनको सङ्ख्या न्यून रहेको र अब भूमिहीन, दलित तथा अव्यवस्थित बसोबासी बढी भएको हुन सक्ने देखिएकाले त्यो समस्या चाँडै समाधान गरिने उहाँले बताउनुभयो । यसका लागि उहाँले आयोगले तीनमहिने कार्ययोजना तयार पारेको र अब त्यसै अनुसार कामको जिम्मेवारी सदस्यबिच बाँडफाँट गरिएको जानकारी दिनुभयो । 

कार्यतालिका अनुसार अबको तीन महिनाभित्र गाउँपालिकासँगको समन्वयमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा गाउँपालिकास्तरीय सहजीकरण समिति गठन गरिने छ भने वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सहजीकरण समिति गठन हुने उहाँले बताउनुभयो । 

त्यसै गरी गाउँपालिकामा भूमि शाखा पनि गठन गरिने छ भने यो काम गर्न गाउँपालिकाले सम्पर्क व्यक्तिसमेत तोक्ने छ । हालसम्म यो काम सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा भइसकेको र अब बाँकी पाँच वटा गाउँपालिकामा पनि चाँडै गरिने उहाँले बताउनुभयो । यसका लागि आयोगका अध्यक्ष, विज्ञ सदस्य र अन्य सदस्यबिच कार्यविभाजन पनि गरिएको छ । यसअघि गठन भएका चार वटा आयोगले काम गरेको भए पनि दस्ताबेज भेटाउन नसकिएका कारण काम गर्न हालको आयोगलाई समस्या भइरहेको गुनासो उहाँको छ । 

अब यी चार वटा काम सम्पन्न भएपछि वडास्तरमा लगत सङ्कलन हुने छ भने लगत सङ्कलनपछि दाबी विरोधका लागि सूचना जारी गर्ने उहाँले बताउनुभयो । यति भएपछि पहिचान भएका भूमिहीन, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानको बाटो खुल्ने उहाँको भनाइ छ । 

पहिला गठन भएको आयोगले जसरी काम नगर्ने र ढिलो गर्न नहुने सुझाव दिँदै कर्णाली प्रदेश सभाका सदस्य रणसिंह परियार वास्तविक सेवाग्राहीको पहिचान गरेर लालपुर्जा दिने काम गर्न आग्रह गर्नुभयो । जिल्लामा यस्ता सेवाग्राही धेरै नभएका कारण पनि आयोगले इच्छाशक्ति देखाएर काम गर्न उहाँले आग्रह गर्नुभयो । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले आयोगलाई सबै किसिमले सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । 

यसैबिच कार्यक्रममा अध्यक्ष रोकायाले एक रोपनी जग्गा दुई जना भूमिहीन दलितलाई दिने घोषणा गर्नुभएको छ । लगत सङ्कलनपछि पत्ता लागेका भूमिहीन र दलित दुई जनालाई आफ्नो सिमकोटको एक रोपनी जग्गामध्ये आधा आधा रोपनी जग्गा दिने उहाँले कार्यक्रममा घोषणा गर्नुभएको हो ।