बसन्त पराजुली
नारायणगढ, चैत २९ गते । गोली लागेर चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको श्री नयाँ गोरख गणमा कार्यरत नेपाली सेनाका जवान चन्द्रकिशोर दासको मृत्यु भएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सेतीदेवी सामुदायिक वन नजिकै रहेको शरनपुर पोष्टमा कार्यरत २२ वर्षीय दासको आफ्नै कार्यालयमा गोली लागेर मृत्यु भएको हो ।
नेपाली सेनाका प्रवक्ता गौरव केसीले असावधानी बस हतियार चलाउँदा दासमाथि गोली लागेको बताउनुभयो ।
“असवधानीका साथ हतियार (बन्दुक) चलाउँदा गोली चलेको र त्यो गोली लाग्दा दासको मृत्यु भएको हो”, उहाँले भन्नुभयो ।
शुक्रबार बिहान ९ वजे दासलाई गोली लागे लगत्तै उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइए पनि उहाँलाई बचाउन नसकिएको नेपाली सेनाले जनाएको छ ।
विहानी गस्ती गरेर फर्किए लगत्तै बन्दुक ब्यवस्थापन गर्ने क्रममा सो गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार दासको दाहिने तिघ्रामा गोली लागेको थियो ।
दासको शव अहिले चितवन मेडिकल कलेजमा रहेको छ । शनिवार परिवारलाई शव बुझाएपछि दाहसंस्कार गर्ने बताइएको छ । दास पर्साका बासिन्दा हुन् ।