• ५ वैशाख २०८२, शुक्रबार

कुरिलो टिप्न जङ्गल गएका युवा भालुको आक्रमणबाट सख्त घाइते

blog

फाइल तस्बिर ।

नवीनराज कुइकेल

लमजुङ, चैत २९ गते । लमजुङको क्व्होलासोथार गाउँपालिका–७, भोजेमा कुरिलो टिप्न जङ्गल जानुभएका एक युवक भालुको आक्रमणबाट सख्त घाइते हुनुभएको छ ।

सख्त घाइते भोजे गाउँ निवासी २६ वर्षीय टेकप्रसाद गुरुङको गण्डकी अस्पताल पोखरा लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बिहीबार साँझ ५ बजेतिर उहाँलाई भालुले आक्रमण गरेको हो ।

भोजे सामुदायिक जङ्गलमा साथीहरूसँग कुरिलो टिप्न जाँदा भालुको आक्रमणबाट युवक घाइते हुनुभएको वडाध्यक्ष लक्षुमन गुरूङले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बोहाराका अनुसार अनुहार र शरीरमा चोट लागेका गुरुङको अवस्था गम्भीर रहेको छ ।

स्थानीयका अनुसार तीन जना युवकहरू कुरिलो खोज्न गाउँ माथिको पुरानो गाउँको भग्नावशेष जङ्गलमा गएको बेला भालुले आक्रमण गरेको हो । आक्रमणमा परेपछि उहाँले हारगुहार मागेको र दुई जना साथीहरू पुगेपछि भालु भागेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक पण्डितले जल्लामा मानव वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको बताउनुभयो । कुरिलो, टुसा, नियुरो खोज्न जङ्गलमा जाँदा बर्सेनि भालुको आक्रमणका घटना हुने गरेको उहाँले बताउनुभयो ।