• ५ वैशाख २०८२, शुक्रबार

सप्तरीमा एमाले अधिवेशनको तयारी पूरा

blog

पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार सचिवालय सदस्य सत्यनाराण मण्डल, पूर्व सांसद जगदीश साह, हिरण्यकुमार गुप्तालगायतको उपस्थिति । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २९ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

राजविराजस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले सप्तरीले अधिवेशनको तयारीबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष ताराकान्त चौधरीले चैत ३० गते शनिबार जिल्ला अधिवेशनको उद्घाटन सत्र र चैत ३१ गते आइतबार बन्द सत्र हुने जानकारी दिनुभयो ।

उहाँले जिल्ला अधिशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न प्रमुख अतिथिको रूपमा केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल आउने जानकारी दिनुभयो । बन्द सत्रमा पनि बादल सहभागी हुने अध्यक्ष चौधरीको भनाइ छ ।

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयनका लागि अधिवेशनमा ३५२ जना प्रतिनिधिको सहभागिता रहने जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो ।

“खुलाबाट २२४ जना, महिला ८६ जना र युवा ४२ जना गरी ३५२ जना अधिवेश प्रतिनिधिको सहभागिता रहने छ” उहाँले भन्नुभयो । अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न एक सय स्वयंसेवक समेत परिचालन गरिने बताउनुभयो ।

पार्टी कर्यालयमा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखि, जिल्ला इन्चार्ज सुमनराजराज प्याकुरेल लगायतको उपस्थिति थियो ।

अधिवेशनको पूर्व सन्ध्यामा एमाले भित्र विवाद

नेकपा (एमाले) जिल्ला कार्यसमितिले अधिवेशनको सम्पूर्ण तयारी भएको जानकारी गराएका छन् भने एमाले भित्रकै अर्को पक्षले प्रतिनिधि छनोटमा धाँधलाी भएको भन्दै अन्तर सङ्घर्षमा उत्रेका छन् ।

उनीहरूले पनि शुक्रबार नै राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल र अध्यक्ष ताराकान्त चौधरी विधान प्रक्रिया मिचेर अधिवेशनबाट पार्टी कब्जा गर्ने योजनामा लागेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै केन्द्रीय सदस्य दिवाकर देवकोटाले एक व्यक्तिको अधिनमा पार्टी चलिरहेकोले आफूहरू अन्तर सङ्घर्षमा उत्रिएको बताउनुभयो ।

जिल्लामा वर्तमान नेतृत्वको क्रियाकलापका कारण जिल्लामा पार्टी कमजोर बन्दै गएको बताउँदै देवकोटाले पार्टी भित्रको बेथिति विसङ्गती अन्त्यका लागि तत्काल अधिवेशन रोकेर आफूहरूले उठाएको विषयलाई माग सम्बोधन गर्न माग गर्नुभयो ।

“विधान प्रक्रिया विपरित एक वडाबाट सरुवा गरी अर्को वडाबाट अधिवेशन प्रतिनिधि बनाइएको छ, प्रतिनिधि छनोटमा एकल ढङ्गले मनपरी गरिएका कारण हामीले त्यसका विरुद्ध पार्टीलाई बलियो बनाउन अन्तर सङ्घर्ष थालेका छौं,” देवकोटाले भन्नुभयो ।

यता नेता प्याकुरले पार्टी भित्र कुनै विवाद नरहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले कुनै साथि असन्तुष्ट भए छलफल गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा एक प्रेस विज्ञप्ति समेत जारी गर्दै अर्को पक्षले हैकमवादी प्रवृती र अराजक गतिविधिको बारे केन्द्रीय नेतृत्वलाई जानकारी गराउने उल्लेख गरेका छन् ।

“जिल्ला अधिवेशनलाई स्थगन गरी पोलिटब्युराे सदस्य सुमनराज प्याकुरेलको चाल चलन आरचण शैली अनुसन्धान गरी आवश्यक कारबाहीका लागि जोडदार अपिल गर्दछौं” विज्ञप्तिमा मार्फत माग गरिएको छ ।