• ४ साउन २०८१, शुक्रबार

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

blog

धर्बेन्द्र झा 

धनुषा, जेठ २२ गते । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आईतवार बसेको प्रदेशसभाको वैठकमा अगामी आर्थिक वर्ष २०७९—८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । 

समतामुलक समाज निर्माण, समानुपातिक समावेशी सिद्धान्त तथा पहिचानमा आधारित समाजवाद उन्मुख समृद्ध प्रदेश निर्माण एवम सन् २०३० अगावै दिगो विकासका लक्ष्य हासिल गर्ने विषय कार्यक्रममा समेटिएका छन् । त्यस्तै, विश्व मानकअनुरुप मध्यआय भएको देशमा पुग्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेर सरकारको नीति तथा कार्यक्रम आएको हो । 

नीति तथा कार्यक्रम तयार गर्दा प्रदेश सरकारको पाँच वर्षीय योजनालाई समेत ध्यानमा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ । कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रमा प्रदेशमा उत्साहजनक आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले प्रदेशको मुख्य आर्थिक स्रोत कृषि रहेको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाँउदै  मधेश प्रदेशलाई कृषिप्रधान बनाउन कृषि उत्पादनको क्षेत्रमा लगानी गर्ने नीति लिएको छ ।

आन्तरिक राजस्वनीति परिचालन गरी प्रादेशिक आयोजना र स्थानीय तहलाई विकास गर्ने योजनालाई पूर्णता दिने नीति लिएको छ । प्रदेशमा गठित प्रतिष्ठान र वोर्डहरुको कामको मुल्याङ्कन गरी बजेट विनियोजन र थप निकायको स्थापना नगर्ने नीति लिएको छ । प्रदेश सरकारले समुहमा उद्यमशीलता विकासका लागि लगानी गर्ने र प्रदेशमा प्रादेशिक लगानी सेवा केन्द्र गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

कृषि क्षेत्रको समग्र विकासका लागि कृषि क्षेत्रमा गुरुयोजना तयार गरी कार्यक्रम सञ्चालन गर्नुको साथै निर्वाहमुखी खेती प्रणालीलाई निरुत्साहित गरी व्यवसायिक खेती प्रणालीको विकास गर्नेछ । किसानलाई समयमा मलखाद र विउविजन उपलब्ध गराउनुको साथै कृषिउपजका वस्तुलाई बजारसम्म सहज पहुँचको व्यवस्था मिलाउने नीति लिएको छ । मधेश सरकारले गठन गरेको कृषि विश्वविद्यालय मातहत कृषि उपजका वस्तुलाई अध्ययन अनुसन्धान र माटो परीक्षणका लागि प्रदेशमा प्रयोगशालाको निर्माण गर्ने विषय समेटिएको छ । 

विगत वर्षदेखि सञ्चालनमा रहेको मुख्यमन्त्री किसान उत्थान कार्यक्रमलाई निरन्तरता दिदै प्रदेशमा कृषि गर्भाधान केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रममा प्रदेशको प्रत्येक जिल्लामा कम्तीमा एउटा एकीकृत जैविक फर्मको विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । सिचाईमा लगानी किसानको खुशियाली नारालाई सार्थकतामा ल्याई सिचाई कार्यक्रम प्रभावकारी बनाइने उल्लेख छ । 

नीति तथा कार्यक्रममा मधेश प्रदेशको वनको गुरुयोजना तर्जुमा गरी कार्यक्रम सञ्चालनमा ल्याउनुको साथै वनजन्य उद्यम विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । हरित प्रदेश निर्माणका लागि सडक किनारामा विरुवा रोपी हरियाली प्रवर्धनका साथै विरुवाहरुको संरक्षणका लागि हाईटेक नर्सरीलाई व्यवस्थीत गर्ने व्यवस्था गरिएको छ । 

प्रदेश सरकारले इको पार्क निर्माण गर्नुको साथै चुरेको संरक्षणका लागि चुरे जगाउ मधेश बचाउ अभियानलाई तिब्रता दिने भनिएको छ । चुरे क्षेत्रमा भइरहेको माटो कटानका कार्यलाई रोकी वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिनेछ । प्रदेश सरकारले आर्थिक नगरी बिरगञ्जमा उद्योगको दर्ता नवीकरण सहित उद्योगसम्बन्धी सेवा एउटै ठाउँवाट लिनसक्ने उद्देश्यसाथ उद्योगिक विभागको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

घरेलु तथा साना उद्योगको प्रबर्धनका लागि सहुलियत ऋणको व्यवस्था गर्ने नीति लिएको छ । प्रदेश सरकारले दिगो पर्यटनको विकासका लागि पर्यटन सम्बन्धी कानून ल्याउनुको साथै प्रत्येक जिल्लाको एक स्थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने साथै पालिकाको समन्वय र सहयोगमा पर्यटन पुर्वाधारमा जोड दिने नीति लिएको छ । 

प्रदेशबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचकालागि टोल क्लीनिक सेवा सञ्चालन गर्ने जनाएको छ । प्रत्येक पालिकाको स्वास्थ्य सेवा केन्द्रमा एक जना एमबीबीएस डाक्टरको व्यवस्था गर्ने उल्लेख छ ।


धनुषाको नगराईनमा दुर्गानन्द झाको नाउँमा बाल अस्पतालको स्थापना र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन महोत्तरीको जलेश्वर र सिरहाको लहानमा रहेको सरकारी अस्पातालको वेड क्षमता विस्तार गरी ५० शैयाको बनाउने उल्लेख छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेश सरकारद्वारा गठित विश्वविद्यालयमा प्राविधिक शिक्षाको सुरुवात र पुर्वाधारको विकास गर्ने, महोत्तरीको मटिहानी नगरपालिकामा रहेको संस्कृत विद्यालयलाई संस्कृतको अन्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, शिक्षा क्षेत्रमा राम्रो काम गर्नेलाई प्रत्येक वर्ष मधेश शिक्षा सेवा पुरस्कार प्रदान गर्ने उल्लेख छ । 

विगतमा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई निरन्तरता दिदै कक्षा ८ मा अध्यनरत्त छोरीलाई साइकल वितरण गर्न सम्बन्धित विद्यालयलाई अनुदान रकम उपलब्ध गराउने व्यवस्था छ ।  प्रदेश सरकारको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रादेशिक खेलकुद बोर्डको गठन गर्ने र युवालाई सही परामर्शका लागि आठ वटै जिल्लामा युवा परामर्श केन्द्रको स्थापना गर्ने उल्लेख छ । 

नीति तथा कार्यक्रममा हाम्रो प्रदेश उज्यालो प्रदेशको अवधारणाअनुरुप सौर्य उर्जालाई प्राथमिकताकासाथ अगाडि बढाइने व्यवस्था छ । प्रदेशको राजधानी जनकपुरधाम र आर्थिक नगरी बिरगञ्जको समग्र बिकासका लागि जनकपुरधाम बिकास प्राधिकरण र बिरगञ्ज बिकास प्राधिकरणको गठन, महोत्तरीको बनौली विद्यापति डिहको पर्यटकीय विकासका लागि विद्यापतिको सालिक निर्माणका साथै बनौलीदेखि एकरैहिया हँुदै मटिहानीसम्म विद्यापति राजमार्ग निमार्ण गर्ने, मालपोत कार्यालयमा ओनलाइन भुक्तानी प्रणालीको विकास यसै वर्षदेखि शुरु गर्ने उल्लेख छ । 

प्रदेशमा सञ्चालित जनता अवास कार्यक्रमलाई निरन्तरता दिदै महेन्द्रनरायण निधि विपन्न आवास परियोजनामार्फत विपन्नलाई घर निर्माण गरिने उल्लेख छ ।  प्रदेशमा मुद्रण छापाखाना यसै वर्षदेखि सञ्चालनमा ल्याउने र प्रदेशमा उत्कृष्ट काम गर्नेलाई प्रदेश पदकबाट सम्मान गरिने कार्यक्रम ल्याउने उल्लेख छ । 

प्रदेश सरकारले मधेश प्रहरी सेवा गठन गरी प्रहरी भर्ना गर्ने, उच्च तहका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिने उल्लेख छ । प्रदेशको विकासमा जनताको सहभागिताका लागि प्रदेश विकास स्वयमसेवक कार्यक्रम कार्यविधि बनाएर सञ्चालन गर्ने साथै भाषा साहित्य र कला संस्कृतिको संरक्षण सम्बद्र्धन र अध्यनका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने भनिएको छ । मैथिली र भोजपुरी भाषाको विकासका लागि अक्षयकोषको स्थापना गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।