• ५ वैशाख २०८२, शुक्रबार

आसियान प्रमुखद्वारा क्षेत्रीय अर्थतन्त्रलाई ‘दृढतापूर्वक’ एकीकृत गर्न आह्वान

blog

क्वालालम्पुर, चैत २७ गते । व्यापक अमेरिकी भन्सार शुल्कले विश्वको धेरै भाग विनाशकारी व्यापार युद्धको बिचमा फसेको भन्दै आसियानका प्रमुखले बुधबार क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिन आसियानले ‘दृढतापूर्वक कार्य’ गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकालाई आफ्नो मुख्य निर्यात बजारका रूपमा गणना गर्ने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको १० सदस्यीय सङ्घ (आसियान) राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सबैभन्दा कडा कर लगाउनेहरू मध्ये एक थियो ।

“आर्थिक अराजकता द्रुत रूपमा नयाँ सामान्य हुँदै गइरहेको विश्वमा सान्दर्भिक र लचिलो रहनका लागि हामीले स्थिर, पूर्वानुमानयोग्य र व्यापार–मैत्री वातावरणका लागि आसियानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न दृढतापूर्वक, निर्णायक रूपमा र सँगै काम गर्नुपर्दछ”, आसियानका महासचिव काओ किम होर्नले भन्नुभयो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आसियानका आर्थिक तथा वित्तमन्त्रीहरू तथा केन्द्रीय बैँकका गभर्नरहरूको बैठकको पूर्वसन्ध्यामा अमेरिकी करको जवाफ कसरी दिने भन्ने विषयमा छलफल गर्न बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

आसियान सरकारहरूले वार्तालाई प्राथमिकता दिँदै वासिङ्टनविरुद्ध बदला नलिने निर्णय गरेका छन् । तर अर्को प्रमुख बजार चीनले संयुक्त राज्य अमेरिकामा आफ्नै भन्सार शुल्क लगाएपछि उनीहरूको निर्यात उन्मुख अर्थतन्त्रहरू विश्वव्यापी व्यापार युद्धबाट प्रभावित हुने जोखिम छ ।

“अन्तर–आसियान आर्थिक एकीकरणलाई गति दिन र हाम्रो बजार र साझेदारीलाई विविधीकरण गर्न तत्काल र सामूहिक कार्यबिना, हामी विभाजित र द्रुत रूपमा विकसित हुँदै गरेको वैश्विक अर्थतन्त्रमा हाम्रो स्थान छोड्ने जोखिममा छौँ”, काओले भन्नुभयो ।

उत्पादन शक्ति र आसियान सदस्य भियतनाममाथि अमेरिकामा निर्यात गर्ने वस्तुहरूमा ४६ प्रतिशत भन्सार महसुल लगाइएको छ भने ठुला पश्चिमी ब्रान्डहरूका लागि कम लागतको कपडाको प्रमुख उत्पादक छिमेकी कम्बोडियामाथि ४९ प्रतिशत भन्सार शुल्क लगाइएको छ ।

भारी भन्सार लगाइएका अन्य आसियान राष्ट्रहरूमा लाओस (४८ प्रतिशत), म्यान्मा (४४ प्रतिशत), थाइल्यान्ड (३६ प्रतिशत) र इन्डोनेसिया (३२ प्रतिशत)छन् । दक्षिणपूर्व एसियाको तेस्रो ठुलो अर्थतन्त्र मलेसियामाथि २४ प्रतिशतको कम भन्सार लगाइएको छ ।

ब्रुनाईले पनि २४ प्रतिशत भन्सारको सामना गर्दछ भने फिलिपिन्समाथि १७ प्रतिशत र सिङ्गापुरमाथि १० प्रतिशत भन्सार लगाइएको छ ।

आसियानको जनसङ्ख्या ६५ करोडभन्दा बढी छ तर लाओस र कम्बोडिया जस्ता गरिब देशहरूदेखि वित्तीय केन्द्र सिङ्गापुर जस्ता धनी देशहरूसम्म यसका सदस्यहरू आर्थिक विकासका विभिन्न चरणमा छन् । रासस/एएफपी