• ४ वैशाख २०८२, बिहिबार

बङ्गलादेश प्रहरीद्वारा हत्या प्रयासको आरोपमा पूर्व अभियोजक पक्राउ

blog

ढाका, चैत २६ गते । निर्वासित कट्टरपन्थी प्रधानमन्त्री शेख हसिनाको शासनकालमा इस्लामवादी नेताहरूलाई मृत्युदण्डको सजाय सुनाउने अदालतमा वरिष्ठ अभियोजकका रूपमा काम गर्ने वकिललाई पक्राउ गरेको बङ्गलादेशी प्रहरीले मङ्गलबार जनाएको छ ।

यो मुद्दा हसिनाको शासनकालमा उच्च पदमा रहेका व्यक्तिहरूको थुप्रै थुनाको शृङ्खलामा ताजा घटना हो । हसिना स्वयं गत अगस्तमा आफ्नो सरकारलाई अपदस्थ गर्ने अशान्तिका क्रममा सयौँ प्रदर्शनकारीको हत्याका लागि मानवता विरुद्धको अपराधको आरोपमा खोजी गरिएको व्यक्ति हुनुहुन्छ । राजधानी ढाकाका प्रहरी उप-आयुक्त मुहिदुल इस्लामका अनुसार तुरिन अफरोजलाई सोमबार राति हत्या प्रयासको आरोपमा विद्यार्थी नेतृत्वको विद्रोहसँग सम्बन्धित एक मुद्दामा पक्राउ गरिएको थियो ।

गत अगस्टमा सुरक्षा बलले विरोध प्रदर्शन रोक्न खोज्दा गोली लागेका २१ वर्षीय मोहम्मद जब्बारले अफरोजविरुद्ध मुद्दा दायर गरेका थिए । “यो विशेष मुद्दामा उनका कयौँ सह-आरोपीहरू छन्, तर कोही पनि उनी जत्तिको प्रतिष्ठित छैनन्”, मुहिदुलले भन्नुभयो । अफरोज बङ्गलादेशको घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा अभियोजक हुनुहुन्थ्यो । 

हसिनाले सन् २०१० मा पाकिस्तान विरुद्धको देशको सन् १९७१ को स्वतन्त्रता युद्धको समयमा अत्याचारको छानबिन गर्न आइसिटी स्थापना गर्नुभएको थियो । आइसिटीले पछिल्ला वर्षहरूमा धेरै प्रमुख राजनीतिक विरोधीहरूलाई मृत्युदण्डको सजाय सुनायो र हसिनाका लागि आफ्ना प्रतिद्वन्द्वीहरूलाई उन्मूलन गर्ने माध्यमको रूपमा व्यापक रूपमा हेरिएको थियो ।

फाँसीको सजाय सुनाइएका जमात-ए-इस्लामी पार्टीका धेरैजनासहित कम्तीमा छ जना इस्लामवादी नेताहरूको मामिलामा अफरोजले प्रमुख भूमिका खेल्नुभएको थियो । गुलाम आजमबाहेक सबैलाई मृत्युदण्ड दिइएको थियो । यस्तो आरोपमा पूर्व आइसिटी अभियोजक पक्राउ परेको यो पहिलो पटक हो ।

हसिनाले भीडले आफ्नो महलमा आक्रमण गरेपछि पुरानो मित्र भारतमा भाग्नुभयो र उहाँले स्थापना गरेको उही आइसिटी अदालतमा मुद्दा सामना गर्न बङ्गलादेशबाट सुपुर्दगी अनुरोधको अवज्ञा गर्नुभएको छ । अदालतका वर्तमान मुख्य अभियोजक ताजुल इस्लामले पहिले सन् १९७१ को युद्ध अपराधको आरोप लागेका थुप्रै व्यक्तिहरूको प्रतिनिधित्व गर्ने बचाउ वकिलको रूपमा काम गर्नुभएको थियो । रासस/एएफपी