• ८ वैशाख २०८२, सोमबार

इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

blog

राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन, चैत २६ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको बताउनुभएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गर्नुभएको हो ।

सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठुलो खतरामा’ पर्ने चेतावनी दिनुभयो । तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू थिए भनी जोड दिएको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनुहुने छ ।

“यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो”, अराघचीले एक्समा लेख्नुभयो, “बल अमेरिकाको कोर्टमा छ ।” यसैबिच नेतन्याहुले संयुक्त राज्य अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताउनुभएको छ । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ ।

“हामी इरानीहरूसँग व्यवहार गर्दैछौँ, हामीले शनिबार एउटा ठुलो बैठक गरेका छौँ र हामी उनीहरूसँग प्रत्यक्ष व्यवहार गर्दैछौँ”, अमेरिकी भन्सार महसुलबाट इजरायललाई बचाउने प्रयासमा केन्द्रित हुने भनिएको बैठकपछि ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो । ट्रम्पले वार्ता कहाँ हुने बताउनुभएन तर यसमा प्रतिनिधिहरू समावेश नहुने र ‘लगभग उच्चतम स्तर’ मा हुने कुरामा जोड दिनुभयो ।

इरानले देशको आणविक कार्यक्रमलाई रोक्नका लागि नयाँ सम्झौतामा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेपछि ट्रम्पको आश्चर्यजनक घोषणा आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिक्नुभएको थियो र कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ । तर ट्रम्पले तेहरानलाई कडा चेतावनी दिनुभएको छ ।

“यदि इरानसँगको वार्ता सफल भएन भने मलाई लाग्छ कि इरान ठुलो खतरामा पर्नेछ र म यो भन्न घृणा गर्छु, ठूलो खतरा, किनकि उनीहरूसँग आणविक हतियार हुन सक्दैन”, उहाँले भन्नुभयो । यसैबिच अधिकारीहरूले रुस, चीन र इरान मङ्गलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् । नेतन्याहु व्यक्तिगतरूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।

इजरायली प्रधानमन्त्रीले दुई देशबिचको व्यापार घाटा हटाउने र व्यापारका ‘अवरोधहरू’ पनि कम गर्ने प्रतिज्ञा गर्नुभयो । उहाँको देशले बैठकअघि अमेरिकी आयातमा आफ्नो अन्तिम बाँकी भन्सार शुल्क हटाउन कदम चालेको थियो ।

-गाजा वार्ता-

नेतन्याहु र ट्रम्पले गाजाको बारेमा पनि छलफल गर्नुभयो । गाजामा अमेरिकी-मध्यस्थता गरिएको इजरायल र हमासबीचको अल्पकालीन युद्धविराम भङ्ग भएको छ । नेतन्याहुले सन् २०२३ अक्टोबरमा इजरायलमा भएको अभूतपूर्व आक्रमणका क्रममा हमासले लिएका थप बन्धकहरूलाई मुक्त गर्ने उद्देश्यले नयाँ वार्ता भइरहेको बताउनुभयो । “हामी अहिले अर्को सम्झौतामा काम गरिरहेका छौँ जुन सफल होस् भन्ने आशा छ र हामी सबै बन्धकलाई बाहिर निकाल्न प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो ।

ट्रम्पले पनि गाजा पट्टीलाई ‘नियन्त्रण’ गर्ने आफ्नो योजनामा जोड दिनुभयो । यसलाई उहाँले ‘एक उत्कृष्ट भूखण्ड’ भनेर वर्णन गर्नुभयो । उहाँले यो योजना पहिलो पटक फेब्रुअरीमा नेतन्याहुले उहाँलाई भेट्दा घोषणा गर्नुभएको थियो । यसअघि ट्रम्पले वेस्ट विङ बाहिर नेतन्याहुलाई स्वागत गर्नुभयो र दुई नेताहरू ओभल अफिसमा बैठकका लागि भित्र जानुअघि आफ्नो मुठी हल्लाउनुभयो ।

उहाँहरूको योजनाबद्ध प्रेस सम्मेलन छोटो सूचनामा बिना कुनै व्याख्या रद्द गरियो जुन एक असामान्य कदम हो । तर उहाँहरूले ओभल अफिसमा पूल रिपोर्टरहरूको सानो समूहसँग लामो समयसम्म कुरा गर्नुभयो । गत हप्ता राष्ट्रपतिले आफ्नो ‘मुक्ति दिवस’ को घोषणामा इजरायलमाथि १७ प्रतिशत कर लगाएको केही दिनपछि ट्रम्प सत्तामा फर्किएपछि इजरायली प्रधानमन्त्रीको वासिङ्टनको यो दोस्रो भ्रमण हो ।

वासिङ्टनको इजरायलसँग उल्लेखनीय व्यापार घाटा रहेको भन्दै ट्रम्पले अमेरिकी सैन्य सहायताको सबैभन्दा ठुलो लाभार्थी इजरायललाई आफ्नो विश्वव्यापी भन्सार प्रहारबाट छुट दिन अस्वीकार गर्नुभयो । नेतन्याहुले आइतबार आफ्नो आगमनपछि तुरुन्तै वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग भेट गर्नुभयो । इजरायली प्रधानमन्त्रीले सोमबार ट्रम्पका दूत विटकफसँग पनि भेट गर्नुभयो । रासस/एएफपी