सियोल, चैत २६ गते । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गर्नुभएको छ । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उहाँलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो ।
पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गर्नुभएको तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।
गत हप्ता अदालतले उहाँको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उहाँलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो।
सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताउनुभयो । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उहाँले बताउनुभयो ।
फलस्वरूप ‘दक्षिण कोरियाको २१ औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उहाँले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गर्नुभयो । नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।
अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको छ । संवैधानिक अदालतले उहाँको आफ्नै महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम सुरु गर्नुभएको हो ।
यसैगरी, राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन । आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्ने छ ।
विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहनुभएको छ । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उहाँको समर्थन दर ३४ प्रतिशत रहेको छ । उहाँको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ । रासस