• ३१ वैशाख २०८१, सोमबार

भरतपुर अस्पतालमा विरामीको चाप धान्न कठिन

blog

शालिग्राम नेपाल 

चितवन, जेठ २२ गते । स्वास्थ्य विमाको कार्यक्रमलाई स्थानीय पालिकाले प्राथमिकतामा राखेर विमित गराउँदा त्यसको असर भरतपुर अस्पतालमा परेको छ । नव निर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा रहेका सेवाग्राहीलाई विमित कार्यक्रम प्राथमिकतामा राखेका थिए । चितवन बाहिर पनि यो कार्यक्रम जोडतोडकासाथ जनप्रतिनिधिले राखेका छन् । विमा गरेकाहरु उपचारका लागि भरतपुर अस्पताल आउने गरेका छन् ।  

भरतपुर अस्पतालमा क्षमता वृद्धि नगर्दा विमितहरुको चापलाई धान्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अहिलेकै जनशक्ति स्रोत साधनबाट सेवा दिन सक्ने अवस्था नरहेको बताउनुभयो । ‘विमा गर्नेहरुको संख्या हरेक वर्ष वृद्धि हुने तर अस्पतालको क्षमता वृद्धि गर्न स्थानीय सरकारले ध्यान नदिने हो भने समस्या आउनेछ’ उहाँले भन्नुभयो ।

अस्पतालमा सरकारले १५० शैयाका लागि १७५ जना दरवन्दी दिएको छ । यो जनशक्तिले नपुगेर अस्पताल विकास समितिले स्रोत साधनले धान्नेगरी थप ४५० शैया वृद्धि गरेर ६०० शैया पु¥याएको छ । थपेको शैयाका लागि अस्पताल विकास समितिले आफ्नै खर्चमा अहिले व्यवस्थापन गर्दैआएको छ । 

‘यो केन्द्रीय अस्पताल हो तर सेवा सुविधा र यहाँको जनशक्ति भने पुरानै रहेको छ । अस्पताल केन्द्रीय भयो तर यसलाई हेर्ने दृष्टिकोण केन्द्रीय भएको छैन’ मेडिकल सुपरिटेन्डेन्ट पौडेलले भन्नुभयो । 

‘विमा कार्यक्रम राम्रो हो तर यही शैलीबाट अगाडि बढेमा हामीले धान्न सक्दैनौ । जिल्लाका पालिकामा अस्पताल छन् तर सामान्य उपचार हुन्छ जटिल प्रकारका रोग, थप उपचार गराउन पर्दा भरतपुर अस्पताल रोज्ने गरेकाले हामीलाई सेवा दिन जटिल बन्दै गएको छ’ उहाँले भन्नुभयो । 

चितवनसहित मकवानपुर, नवलपरासी, गोरखा, धादिङ, रुपन्देही, रौतहट, वारा, पर्सालगायतका जिल्लाबाट उपचार गराउन विरामीहरु भरतपुर आउनेगरेका छन् । यी सबै जिल्लाका विरामीलाई उपचार सेवा दिंदा अहिले भएको स्रोत साधनले काम गर्न नसक्ने अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो । 

अस्पतालका अनुसार यहाँ दैनिक ओपीडीमा १५ सयदेखि माथिले टिकट काट्ने गरेका छन् । विहान ७ बजेदेखि १२ः३० बजेसम्म टिकट काउण्टर खुला गरिएको छ । पाँचवटा काउण्टरबाट टिकट काट्ने व्यवस्था हुँदा समेत एक दिनमा उपचार गराएर जान सकिने अवस्था नभएको सेवाग्राहीले बताउनेगरेका छन् । 

पालिकाहरुले विपन्न गरिवलाई विमा निःशुल्क कार्यक्रम ल्याएका छन् । यो सँगै वृद्ध असहाय, दलित, निश्चित वर्ग लगायतलाई विमा गर्दैआएको छ । विमा कार्यक्रमलाई पालिकाले प्राथमिकता दिंदा विरामी उपचारका लागि भरतपुर अस्पताल आउनेगरेका छन् । 

कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गरिब विपन्नलाई पालिकाले निःशुल्क विमा गरिदिने योजना बनाएको बताउनुभयो । पालिकामा नै अस्पताल भएकाले सामान्य विरामीको लागि भरतपुर जानुपर्ने वाध्यता नभएको उहाँको भनाई छ ।