• २६ चैत २०८१, मङ्गलबार

गोकर्णेश्वरमा नेपथ्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । अस्ट्रेलियाको शृङ्खलाबद्ध कन्सर्ट सकेर फर्किएको नेपथ्य अब गोकर्णेश्वरमा ब्यान्डका साथ घन्किने भएको छ । मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ अनुसार नयाँ वर्षको अवसर पारेर शनिबार गोकर्णेश्वरमा कन्सर्ट गर्न लागेका हौँ । नेपथ्यले दुई वर्षपछि काठमाडौँ उपत्यकामा कन्सर्ट गर्न लागेको हो । 

काठमाडौँ उपत्यकाका नगरपालिका जनसङ्ख्याका हिसाबले नेपालका अरू धेरै सहरभन्दा ठुलो छ । यी ठाउँमा पनि छुट्टै कार्यक्रम हुन सक्छ भन्ने अध्ययन गर्दै थियौँ, गोकर्णेश्वरको प्रस्ताव आयो, नेपथ्यलाई व्यवस्थापन गर्दै आउनुभएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “विदेशका आधुनिक र प्रविधिसम्पन्न हलको अनुभव लिएर आएको ब्यान्डलाई गोकर्णेश्वरका दर्शकमाझ पनि उत्तिकै स्तरमा उभ्याउने तयारीमा लागेका छौँ ।” कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा हुने छ । यसलाई स्थानीय तन्नेरीको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ ले प्रस्तुत गर्न लागेको हो ।