• ३१ वैशाख २०८१, सोमबार

पुतलीबजारमा रक्तसञ्चार केन्द्र स्थापना

blog

रक्तसञ्चार केन्द्र स्थापनाको लागि गरिएको रक्तदानमा ब्लडब्याग हस्तान्तरण गर्दै । तस्बिर– अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ २२ गते । पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको स्याङजा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । 

पुतलीबजार नगरपालिकाको प्रारम्भिक आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा शाखाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको हो । 

पुतलीबजार नगरपालिकाको पहिलो बैठकको अस्पतालमा मिगौला डायलासिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णयअनुसार केन्द्रको स्थापना गरिएको हो । 

नगरपालिकाले प्रारम्भिक कामको लागि १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेसँगै केन्द्रको स्थापना र डायलासिस सेवा विस्तारमा सहयोग पुगेको हो । 

१२० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण सञ्चालनमा करिब २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले बताउनुभयो । 

रगत अभावका कारण यसअघि केन्द्र बन्द भएको स्मरण गर्दै रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग आवश्यक रहेको अर्यालले बताउनुभयो । 

रक्तसञ्चार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदातामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औँ पटकसहित जम्मा १७ जनाले रक्तदान गर्नुभएको थियो । जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभावमा उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले रक्तदाता महादेब श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको थियो । 

स्वास्थ्य नागरिकको लागि महत्वपूर्ण पक्ष भएको र अस्पतालका विरामीले रक्त अभावका कारण भोग्नुपरेको समस्यालाई मध्यनजर गरी रक्तसञ्चार केन्द्र स्थापना गर्न पहल गरेको रेग्मीले बताउनुभयो । 

अस्पतालको समग्र विकासमा हातेमालो गर्ने बताउँदै रेग्मीले अस्पालको हरेक समस्यामा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।