चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २५ गते । ताप्लेजुङका तीन वटा स्थानीय तहले कोशी प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । जिल्लाका मैवाखोला गाउँपालिका, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) कार्यान्वयन गर्न लागिएको छ । उक्त परियोजनाअन्तर्गत चारवटा पदमार्ग निर्माण हुने र सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङलाई समेट्नगरी लालीगुराँस पदमार्ग निर्माण गर्न लागिएको छ । लालीगुराँस पदमार्गमा ताप्लेजुङका तीनवटै पालिकालाई नसमेटिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लालीगुराँस पदमार्ग (तुम्लिङटार खादबारी–नुम गुफापोखरी–बसन्तपुर–जलजले तीनजुरे–मिल्के) ले ताप्लेजुङका मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकालाई छुने भए पनि परियोजनामा तीनवटै पालिकालाई नसमेटिएको पालिकाहरुले उल्लेख गरेका छन् । संयक्त विज्ञप्ति प्रकाशित गर्दै परियोजना निर्माणमा लागत साझेदारी, रायल्टी बाँडफाड, स्थानीय प्राकृतिक स्रोत साधनका उपयोगमा स्थानीयको अग्राधिकार हुने कानुनी व्यवस्था भएकोमा सो व्यवस्थाको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघि सारेको यस परियोजनालाई सच्याउनुपर्ने मागसमेत तीन पालिकाले गरेका छन् । पदमार्ग परियोजना निर्माण गर्दा थप जलजले–तीनपोखरी, सोदुपोखरी–तोक्पेगोला हुँदै ओलाङ्चुङगोलासम्म कायम गर्नुपर्ने पालिकाद्वारा जारी संयुुक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै काशी प्रदेश सरकारले दोस्रो आवधिक योजनामा रुपान्तरणकारी कार्यक्रम छनोट गर्दा जैविक विविधता र प्राकतिक स्रोतहरुको प्रचुर सम्भावना भएर पनि ताप्लेजुङलाई नसमेटेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
यता तीनवटा पालिकाले साझा सरोकारका विषय र साझा हितमा समन्वय तथा सहकार्य गरेर काम गर्दै अघि बढ्ने पनि प्रतिवद्धता जनाएका छन् । मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रामा आइतबार तीनवटा गाउँपालिकाका पदाधिकारीहरु सम्मिलित बैठक बसेको थियो । बैठकपछि मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङ्गाम र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गर्नुभएको हो ।