• २८ चैत २०८१, बिहिबार

गुठिचौरमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन

blog

पर्यटकिय क्षेत्र उत्खनन हुँदा कुरुप देखिएको गुठिचौर । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिंजा (जुम्ला), चैत २५ गते ।
गुठिचौर गाउँपालिका वडा नम्बर २ कोल्तेस्थित पर्यटकीय क्षेत्र गुठिचौरमा  अवैध रूपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । गुठिचौर उपत्यकामा बग्ने खोलाहरुबाट निर्माण व्यवसायीहरुले मनमर्जी रुपमा गिट्टी बालुवा उत्खनन गरिरहेका छन् ।

गुठिचौरको आर्थिक समृद्धिको मेरुदण्ड मानिएको गुठिचौर उपत्यकामा अवैध उत्खनन बढ्दै जाँदा उपत्यका सङ्कटमा पर्ने देखिएको छ । उक्त क्षेत्रमा निर्माण हुने सडक भवन तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त क्षेत्रबाटै गिट्टी बालुवा उत्खनन भएको पाइएको छ ।

बालुवा गिट्टीको उत्खननपछि उपत्यकामा क्षयीकरण बढ्दै गएको छ । उक्त उपत्यकामा वर्खाको सिजनमा गुठिचौरका गाई भैंसी राख्छन् भने गुठिचौर भेडा फार्मका भेडा, स्थानीयका घोडालगायतका पशुचौपाय चर्ने एक मात्र ठाउँ पनि हो ।

बढ्दै गएको अवैध उत्खनन नरोकिएको खण्डमा केही वर्षमा पशुचौपायलाई चरण क्षेत्रको अभाव हुने देखिएको छ भने उपत्यकानै सङ्कटमा पर्ने देखिएको हो । कर्णालीका सोलो ट्राभलर सिर्जना सिज्जुले एक भिडियो सार्वजानिक गर्दै दुई वर्ष पहिला आउँदा सुन्दर गुठिचौर उपत्यका अहिले अवैध उत्खननले कुरुप बन्दै गएको बताउनुभयो ।

उहाँ दुई वर्ष पहिला त्यहा पुग्दा गुठिचौरको सुन्दरता देखेर राज्यले चिन्न निकेको, संरक्षण हुन नसेकेको भन्दै भावुक भएको जानकारी गराउनुभयो । अहिले स्थानीय तहकै बेवास्ता र निर्माण व्यवसायीको लापारबाहीले गर्दा गुठिचौर उपत्यकाको दोहन बढेको हो । गुठिचौरको अवैध उत्खननपछि स्थानीय नागरिकले चासो देखाएका छन् ।

यदपी नियमन गर्ने, गिट्टि बालुवाको व्यवस्थित उत्खनन् गर्ने जिम्मेवारी पाएको स्थानीय सरकार भने मुख दर्शक बनेको समेत स्थानीयको गुनासो छ ।