नेपाली संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमालाई फागु अर्थात् होली पर्व मनाइन्छ । यो रङको पर्व हो । यस दिनलाई राष्ट्रिय पर्वका रूपमा लिइन्छ । यस दिन सार्वजनिक बिदा पनि दिइन्छ । पहाडी क्षेत्रमा अघिल्लो दिन र तराई मधेशमा भोलिपल्ट मनाउने चलन छ । फागु पर्वमा घरपरिवार वा साथीभाइबिच आपसमा रङ वा अबिर लगाइदिएर मनाउने गरिन्छ । नेपालमा आएका विदेशीले पनि त्यस दिन मजाले पर्व मनाएको देख्न पाइन्छ । भारतमा पनि नेपालमा जस्तै उत्साहका साथ यो पर्व मनाउने गरिन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबारअगाडि चीर (ध्वजापताकाले सजाइएको लिङ्गो) गाडिन्छ । त्यसपछि फागु सुरु भएको मानिन्छ । पूर्णिमाको राति चीरलाई ढालेर जलाएपछि फागु समाप्त भएको ठानिन्छ । काठमाडौँमा फागु पूर्णिमाको मध्यरातमै नेवार जातिले टुँडिखेलको बिचमा रहेको रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन पनि रहिआएको छ ।
चाँगुनारायणमा फागु मनाउँदा राधा र वंशगोपालका मूर्तिलाई रथमा राखी यात्रा गराइन्छ । रथलाई चाँगुनारायण मन्दिरको परिक्रमा गराइन्छ । रथयात्रापछि चाँगु क्षेत्रमा होलीको सुरुवात भएको मानिन्छ । लिच्छविकालमा पौष पूर्णिमामा होली मनाउने गरेको कुरा गोपालराज वंशावलीमा लेखिएको छ । मल्लकालीन अभिलेखबाट मल्लराजाहरू आफ्नो दरबारको सामुन्ने मयलको रुख गाडेर फागु पर्व मनाउने गरेको थाहा हुन्छ । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहको पालादेखि हनुमानढोका गद्दी बैठकको दक्षिणतर्फ रङ्गीबिरङ्गी कपडा टाँगेर बनाइएको चीर गाड्ने चलन सुरु भएको हो ।
किंवदन्ती र पौराणिक भनाइ अनुसार सत्ययुगमा हिरण्यकशिपु नामक राक्षसको छोरा प्रह्लाद अति नै विष्णु भक्त थिए । आफ्नो छोरालाई विष्णुको भक्तिबाट अलग गर्न नसकेपछि हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिए । होलिका स्वयम् आगोमा जलेर भस्म भइन् । त्यसलाई होलिका दहन भन्ने गरिएको छ । त्यसैको खुसियालीमा आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता छ ।
यो पर्वले एकआपसमा मिलेर बस्नु पर्छ भन्ने सन्देश दिएको छ । एकआपसमा खुसी बाँड्नु पर्छ भन्ने सन्देश पनि दिएको छ । सभ्य भएर फागु पर्व मनाउनु पर्छ । कसैको पनि इच्छाबेगर रङ वा अबिर लगाइदिनु हुँदैन ।