• २० चैत २०८१, बुधबार

रोजगार मेलाबाट ९३ जनाले रोजगारी पाए

blog

मेलामा रोजगारीका लागि आवेदन दिँदै युवाहरू । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १८ गते । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको रोजगार मेलामा रोजगारी खोज्दै ठुलो सङ्ख्यामा बेरोजगारहरू पुगेको बताउनुभयो । 

उहाँले आवेदन दिएकामध्येबाट रोजगारदाता र रोजगार खोज्नेबिच प्रत्यक्ष संवाद गराई मेलास्थलमै ९३ जनाको रोजगारी ग्यारेन्टी गरिएको र अन्यलाई पनि सम्पर्कमा रहन भनिएको बताउनुभयो । 

मेलामा रोजगारदाताका ४० वटा स्टलहरू राखिएको जनाउँदै सङ्घका अध्यक्ष धामीले आवेदन दिने एक हजार ४५ जना मध्ये ६०२ जनाले तालिम आवश्यक रहेको भन्दै आवेदन दिएको र अन्य ४०० बढीले सीप भए पनि काम नभएको भन्दै आवेदन दिएको बताउनुभयो । 

रोजगार मेलाका परामर्शदाता सरोज चौधरीले अपाङ्गता भएका ७ जनालाई नेपालगन्जका होटलहरूले मेलास्थलमै नियुक्तिपत्र दिएको जनाउँदै अन्य ९३ जनाको पनि रोजगारको ग्यारेन्टी भएको बताउनुभयो । 

उहाँका अनुसार मेलामा रोजगार खोज्दै बाँकेका ८ वटै स्थानीय तहका विभिन्न गाउँ र टोलबाट आएका बेरोजगारको लर्को लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरूलाई मेलामा सहभागी गराइएको थियो ।

सङ्घले जिल्लामै पहिलो पटक रोजगार मेला आयोजना गरेको जनाउँदै सङ्घका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले तीन तहकै सरकारसँग समन्वय र सहकार्य गरेर जिल्लाका लागि आवश्यक जनशक्ति उत्पादन गरिने बताउनुभयो । 

सङ्घले रोजगार मेलामा कृषि र पर्यटनका विषयमा सरोकारवालाबिच छुट्टाछुट्टै संवाद गरेको थियो । सरोकारलाहरूले रोेजगारी सिर्जनाका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएको वरिष्ठ उपाध्यक्ष ओलीले बताउनुभयो ।