इलामको नाम सुन्नासाथ आँखाअगाडि चिया बगानको मनै लोभ्याउने दृश्य घुम्न थाल्छ । कन्याम, अन्तु र चिया बगान घुम्न बर्सेनि हजारौँ पर्यटक इलाम आइपुग्छन् । पर्यटकले आफूसाथ चिया, घिउ, अकबरे खुर्सानी, मह, अदुवाको अचार, अलैँची आदि लिएर जान्छन् । बालबालिकाको रोजाइमा भने इलामको छुर्पी र ललिपप पर्ने गरेको छ ।
छुर्पी गाई वा चौँरीको दुधबाट तयार पारिन्छ । डेरीमा छुर्पी बनाउने गरिन्छ । दुधबाट बनेको हुँदा स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले पनि बालबालिकाले छुर्पी रुचाउने गरेका छन् । गाईको दुधमा चिनी मिसाएर ललिपप बनाउने गरिन्छ । इलामका गाउँ गाउँमा छुर्पी र ललिपप उद्योग खुलेका छन् । इलाममा १५० भन्दा बढी उद्योगले छुर्पी उत्पादन गर्ने गरेका छन् । १५ वटाभन्दा बढी मिठाई पसलले ललिपप बनाउने गरेका छन् ।
इलाममा हरेक दिन करिब १५ हजार लिटर दुधबाट छुर्पी बनाउने गरिएको छ । त्यस्तै दैनिक पाँच हजार लिटर दुधबाट ललिपप बनाउने गरिएको छ । इलाममा वार्षिक एक लाख २० हजार मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुने गरेको छ ।
मेची राजमार्गको पाँचथर–इलाम सीमा क्षेत्र राँके बजारदेखि इलाम–झापाको सीमा क्षेत्र जोरकलससम्म सडक किनारका पसलमा गाउँबाट ल्याइएको छुर्पी र ललिपप सजाएर राख्ने गरिएको पाइन्छ । सूर्योदय नगरपालिकाको फिक्कल, कन्याम त छुर्पी र ललिपपका लागि प्रख्यात छ । इलाम बजार र राँके बजार पनि यस्ता कोसेलीका लागि प्रख्यात छ ।
ललिपप धेरै महँगो पनि हुँदैन । सानो प्याकेटलाई ५० रुपियाँ र ठुलोलाई एक सय रुपियाँमा किन्न पाइन्छ । छुर्पी प्रतिकेजी एक हजार दुई सय रुपियाँमा किन्न पाइन्छ । गाईको भन्दा चौँरीको छुर्पीको मूल्य बढी पर्छ । कसैलाई उपहार दिनु परेमा कलात्मक ढङ्गले प्याकेजिङ गरिएको गिफ्ट ललिपप र छुर्पी पनि किन्न पाइन्छ । फिक्कलको कोसेलीघरकी सञ्चालक वन्दना प्रधानले इलाम घुम्न आएका पर्यटकले आफन्त र साथीभाइका लागि ललिपप र छुर्पी लैजाने गरेको बताउनुभयो ।
यहाँ उत्पादन भएको छुर्पी विदेशमा पनि पुग्छ । तोया महतले नेपालका विभिन्न जिल्लाका साथै अमेरिकामा पनि छुर्पी पठाउने गरेको बताउँदै भन्नुभयो, “अमेरिकामा बस्ने नेपाली बालबालिकाले छुर्पी निकै रुचाउने गरेका छन् ।”
खाद्य विशेषज्ञका अनुसार मासुभन्दा छुर्पी खानु राम्रो हुन्छ । यसमा बोसोको मात्रा कम हुने भएकाले स्वास्थ्यवर्धक भएको खाद्य विशेषज्ञहरूको दाबी छ । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दैनिक ५० हजार लिटर दुध उत्पादन गरी त्यसबाट पाउडर दुध तयार गर्ने तयारी भइरहेको बताउनुभयो ।