पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया पुग्ने जोसुकैलाई पेडाले आकर्षित गर्छ । गाडीबाट कतै गइरहेकाहरू पनि पेडा किन्नका लागि यहाँ रोकिने गरेका छन् । बरमझियाको पेडा देशभरि चर्चित छ । पूर्वी नेपालमा बरमझियाको पेडा र पश्चिम नेपालमा भैरहवाको पवन मिष्ठान्न भण्डारको पेडा ‘ब्रान्ड’ नै बनेको छ । बरमझियामा रहेका सबै पेडा पसल सञ्चालकले आफ्नो पसल सबैभन्दा पहिले सुरु भएको दाबी गर्ने गरेका छन् ।
बरमझियामा पेडा पसलको जन्मदाता बैजनाथ साहको नामबाट पेडाको ब्रान्ड बनेको छ । उहाँको पेडा पसलको नाम श्री बैजनाथ पेडा भण्डार हो । अहिले पनि त्यही नामबाट पेडा पसल सञ्चालन भइरहेको छ । पेडाबाट ख्यातिप्राप्त बरमझियामा ग्राहक तान्न बैजनाथकै ब्रान्ड हो भनेर झुक्याउन पेडा पसलहरूले ‘असली’, ‘पुरानो’, ‘बुढा’ र ‘बैजनाथ’ जोडेर पसल सञ्चालन गरेको पाइन्छ । त्यसैले पेडा किन्न गएकाहरू अलमलमा पर्छन् । बरमझियामा ६० वर्षअघि बैजनाथ साहले पहिलो पटक पेडा पसल सुरु गर्नुभएको थियो । पेडा पसल तेस्रो पुस्तामा आइसकेको छ । कञ्चनरूप नगरपालिका–२, बरमझियामा श्री बैजनाथ साह पेडा भण्डारको नामले सञ्चालन गरेको पेडा पसल वैजनाथको निधनपछि कान्छो छोरा राजकुमार साहले निरन्तरता दिइरहनुभएको थियो । राजकुमारले जेठो छोरा विवेकलाई पेडा पसल सञ्चालनको जिम्मेवारी सुम्पिनुभएको छ ।
विसं २०१० तिर बजनाथका बाबु अकल साहले झुपडीमा चिउरा, मुरही, चना, कचरीको खाजा पसल सञ्चालन गर्नुभएको थियो । बैजनाथले भारतको विहारतिर घुमफिर गर्ने क्रममा पेडा बनाउने सिप सिक्नुभयो । उहाँले पेडा बनाउने सिपलाई अभ्यासका लागि बाबुले सञ्चालन गरेको खाजा पसलबाट सुरुवात गर्नुभयो । २०१२/२०१३ सालतिर एक सय रुपियाँ खर्च गरेर सुरुवात गरिएको पेडा व्यवसाय यतिखेर चर्चित हुनुका साथै थुप्रैले रोजगारी पनि पाइरहेका छन् । यहाँ पेडा व्यवसाय झाङ्गिएकोले स्थानीयले गाईभँैसीपालन गरेर मनग्गै आम्दानी गर्दै आएका छन् । यहाँको पेडा भारतको विहार राज्यको वीरपुर, सहरसा, पटना, दरभङ्गा आदि सहरसम्म पुग्ने गरेको छ । यहाँको पेडा कोसेलीका रूपमा घर घरमा पनि लैजाने गरिएको छ । अब त काठमाडौँबाट पनि अनलाइन अर्डर गरेर मगाउने सुविधा सुरु भइसकेको छ ।
बरमझियामा अनगन्ती पेडा पसल सञ्चालनमा छन् । बैजनाथको नाम जोडेर पेडा बेच्नेहरू करिब एक सय पसल छन् । पूर्व कोसी ब्यारेजदेखि पश्चिम महुली पुलसम्म करिब २० किलोमिटरसम्म राजमार्ग छेउमा पेडा पसल सञ्चालन भइरहेका छन् । केहीले आफ्नो छुट्टै नामबाट पेडा पसल सञ्चालन गरेको पाइन्छ । पेडा दुधबाट तयार गरिन्छ । खुवामा चिनी मिसाएर पेडा तयार गरिन्छ । पेडा सञ्चालक राजेन्द्र साहले प्रतिएक सय केजी दुधबाट २० केजी पेडा तयार हुने गरेको बताउनुभयो । राम्रो चलेको पसलबाट औसतमा दैनिक ५० देखि ७० केजीसम्म पेडा बिक्री हुन्छ । प्रतिकेजी एक हजार रुपियाँमा पेडा बिक्री गर्ने गरिएको छ ।
सुरुमा पेडा बनाउन कोसी टापुबाट दुध ल्याउने गरिन्थ्यो । अचेल कोसी टापुसहित फत्तेपुर, महुली दुग्ध सङ्कलन केन्द्र एवं गाईभैँसी फार्मबाट पेडाका लागि दुध ल्याउने गर्दछ । यहाँ औषतमा दैनिक ४० हजार लिटर दुध खपत हुने गरेको अनुमान गरिएको छ । प्रत्येक पसलमा चारदेखि आठ जनासम्म श्रमिक खटिने गरेका छन् । यी पेडा पसलले धेरै जनालाई रोजगारी दिएको छ । गाईभैँसीपालन गर्ने किसानलाई पनि राम्रो आयको स्रोत बनेको छ ।