• २० चैत २०८१, बुधबार

निजी क्षेत्रको साहित्यिक पत्रकारिता

blog

समाचार पत्रकारिताभन्दा जेठो साहित्यिक पत्रकारिताः

नेपालमा साहित्यिक पत्रकारिताको इतिहास समाचार पत्रकारिता (गोर्खापत्रको प्रकाशन १९५८ वैशाख) कोभन्दा तीन वर्षले पुरानो अर्थात् जेठो छ । १९५५ साउनमा ठहिँटी कामाडौँबाट पण्डित नरदेव र मोतीकृष्ण शर्माद्वारा सम्पादित र प्रकाशित सुधासागर नामक साहित्यिक पत्रिकाबाट आरम्भ भएको यसको इतिहास एक सय पच्चिस वर्ष पुगेको छ । यसपूर्व बनारसबाट प्रकाशित भनिएको र मोतीराम भट्टद्वारा सम्पादित गोरखा भारत जीवन पत्रिका सुधासागरभन्दा १२ वर्षपहिले नै प्रकाशित भएको भन्ने प्रमाणित तथ्यका अभावमा अहिलेसम्म सबैभन्दा पहिलो नेपालभित्रबाटै प्रकाशित र नेपाली भाषाको साहित्यिक पत्रिका भने सुधासागर लाई मानिँदै आएको हो । बनारस अर्थात् वारणासी वा काशी, नेपालीहरूका लागि धार्मिक स्थल र प्राचीन सांस्कृतिक गन्तव्य हो । त्यसका साथै नेपाली साहित्यिक पत्रकारिताको उद्गम स्थल पनि हो । शारदाको प्रकाशनपूर्व त्यहाँबाट सुन्दरी (१९६३), माधवी (१९६५), चन्द्र (१९७१) आदि पत्रिका प्रकाशित थिए । साहित्यिक पत्रकारिताको आर्को महìवपूर्ण स्थल खरसाङ, दार्जिलिङ, कालेबुङ पनि थियो । खरसाङबाट सन् १९१८ जनवरीमा चन्द्रिका मासिक र पछि सन् १९५० मा दार्जिलिङबाट भारती मासिकले यो क्षेत्रमा पु¥याएको योगदानलाई लिन सकिन्छ । भारती पत्रिका प्रकाशन भएपछि मात्र भारतमा नेपाली भाषालाई सरकारी मान्यता दिएको कुरा पारसमणि प्रधानले लेखेका छन् ।  

नेपालमा प्रेसको स्थापनासितै साहित्यिक पत्रिकाको प्रकाशन पनि आरम्भ भएको देखिन्छ । पहिलो प्रेस पाशुपत प्रेस, पशुपति छापाखाना (१९५३) मा सुधासागर छापिएको भन्ने भनाइ रहेको भए पनि त्यस पत्रिकाको स्थूलप्रति भने नभेटिएकाले प्रेस काउन्सिल, नेपालले शारदा पत्रिका (१९९१ फागुन) लाई नै नेपालभित्रबाट प्रकाशित भएको पहिलो नेपाली भाषाको पत्रिका भनेको छ ।  गोरखा भारत जीवन काबारेमा तथ्य प्राप्त हुने हो भने साहित्यिक पत्रकारिताको इतिहास १३७ वर्षको हुने छ । यसरी नेपालमा समाचार पत्रकारिताभन्दा पनि जेठो छ साहित्यिक पत्रकारिता तर यति लामो कालखण्ड बितिसक्दासमेत सरकारी दृष्टिकोणमा भने साहित्यिक पत्रकारितालाई पत्रकारिता नै होइन भन्ने जस्तो अनुभूत हुन्छ । तिनका नजरमा पत्रकारिता भनेको समाचार पत्रपत्रिकाले गर्ने कार्यकलापलाई मात्र भन्ने देखिएको छ । यो दृष्टिकोणमा परिवर्तनको आवश्यकता छ ।


के साहित्यिक पत्रकारिता अनुत्पादकै हो ?

साहित्य, कला र सङ्गीतलाई देशको गहना भनिएको छ । यसको उपस्थितिले कुनै पनि देशको सांस्कृतिक गरिमा उँचो मात्र हुन्न, यो क्षेत्रको विकास भएको देशको प्रतिष्ठा नै आर्कै हुन्छ । यति हुँदाहुँदै पनि यो क्षेत्रमा लागेका र लाग्नेहरूलाई खासै संरक्षण, प्रस्रय र प्रोत्साहन देखिन्न । हो, राज्यले ती क्षेत्रको विकासका लागि भनेर तीन किसिमका प्रज्ञा प्रतिष्ठान गठन त गरेको छ तर ती अचेल राजनीतिक दलीय भागबण्डाका कारण प्रज्ञाका सही पात्र त्यहाँसम्म पुग्न सकेका छैनन् । पुगिहाले पनि ती कुनै दलीय पुच्छर लगाएर बसेका हनुमान जस्ता भएका कारण तिनको प्राज्ञिक क्षमतामाथि नै विश्वस्त हुन सकिँदैन । सरकारको लगानी भनेको तिनै प्रतिष्ठान गठन र त्यहाँका कर्मचारीको पालनपोषणमा बढी देखिने र साहित्यका उन्नयनमा चाहिँ कम देखिने किसिमको आम अनुभूति छ । 

वर्तमान समयमा नेपाली साहित्य र साहित्यिक पत्रकारिताको कुरा गर्दा सरकारी प्रतिष्ठानबाट हुने कार्यकलापभन्दा सयौँ गुणा बढी काम निजी क्षेत्रबाट भइरहेको तथ्यमा विमति छैन । पुस्तक प्रकाशन होस् वा पुरस्कारको व्यवस्था होस् वा साहित्यिक पत्रिका प्रकाशन र अन्य साहित्यिक गतिविधिका कुरा नै किन नहोऊन्, ती सबैमा निजी क्षेत्र धेरै अगाडि छ । यस्तो लगानीलाई साहित्य र साहित्यिक पत्रकारिताको विकासका लागि निजी क्षेत्रको स्वतस्फूर्त भएको लगानी मान्नु पर्छ । भलै त्यस्तो लगानीको तत्काल प्रतिफल नहोला त्यसले दीर्घकालीन रूपमा देशलाई नै गुण लगाएको हुन्छ । यस्तो लगानीलाई सेयरमा दिइने लाभांश प्रतिफलसित तुलना गर्न मिल्दैन । अनुत्पादक क्षेत्र नै सही तर त्यसको विकासमा लागिपरेका साहित्यको उन्नयन र समसामयिक साहित्यिक गतिविधिलाई निरन्तर पच्छ्याइरहेका र तिनको सूचना सम्पे्रषण गरिरहेका निःस्वार्थ समर्पित साहित्यिक पत्रिकालाई भने सरकार वा राज्यले आफ्नो प्राथमिकतामा कहिल्यै राखेको पाइएन, देखिएन । साहित्य, कला, संस्कृति आदि भनेर नाक ठुलो पार्दै हिँड्ने राज्य वा सरकारले एकेडेमी ( नेपाल प्रज्ञा प्रतिष्ठान) बाट वितरित हुँदै आएको राष्ट्रिय स्तरका जम्मा ११ वटा पुरस्कारको व्यवस्था  गरिएको छ भनेर गर्व गरेको देखिन्छ । तर यसै क्षेत्रमा तीभन्दा सयौँ गुणा बढीका पुरस्कारको व्यवस्था गरेका र त्यसमा कुनै सरकारी दायित्व नभएका पुरस्कार र सम्मानप्रति भने अहिलेसम्म पनि एक शब्द खर्च गर्नमा उदारता देखाएको पाइँदैन । साहित्यिक पत्रकारिताकै क्षेत्रमा पनि निजी क्षेत्रले राखेको र वितरण गर्दै आएको पुरस्कारको सङ्ख्या निकै नै छ । 


साहित्यिक पत्रिकाको थालनी सजिलो तर टिकाउन गाह्रोः

राणाकालीन समयमा नेपालभित्रबाटै १९९१ सालदेखि प्रकाशित भएको शारदा (मासिक) नहुँदो हो त सम्भवतः लेखनाथ युगभन्दा अलग युग, जसलाई आधुनिक नेपाली साहित्यको जग बसाउने युग भनेर चिनाइन्छ, को उदय पनि हुनेथिएन । शारदाको उदयका बेला स्थापित साहित्यकारहरू लेखनाथ, देवकोटा, बालकृष्ण सम, सिद्दिचरण, भीमनिधि तिवारी, केदारमान व्यथित, युद्धप्रसाद मिश्र, पुष्कर शमशेर जस्ता साहित्यकारको थप साहित्यिक व्यक्तित्वको उजागर नहुँदो पनि हो । गोपालप्रसाद रिमाल, गोविन्द मल्ल, विजय मल्ल, भवानी भिक्षु, रत्नध्वज जोशी जस्ता साहित्यकारको लेखन भूमिमा शारदाको महìवपूर्ण योगदान रहेको छ । २००७ सालपछिको प्रजातन्त्रकालीन समयमा प्रगति, धरती, हिमानी, बगैँचा, मुकुट, सिउँडी जस्ता साहित्यिक पत्रिकाले पनि नेपाली साहित्यको आधुनिक युग भिœयाउनमा योगदान गरेका छन् । तथापि शारदा पत्रिका जस्तै ती धेरै लामो कालसम्म टिकेका देखिँदैनन् । 

उल्लिखित सबै पत्रपत्रिका एकल वा निजी प्रयासले चलेका थिए । आज प्रकाशन निरन्तरतामा छैनन् तथापि तिनका साहित्यिक योगदान भने अमूल्य छ । राणकालीन समयको त कुरै नगरौँ शारदा को प्रकाशन त्यो समयको एक माइलस्टोन नै हो साहित्यिक पत्रकारितामा क्षेत्रमा । चालिस जना जाँचकीबाट लेख रचना सेन्सर गरेर नेपाली भाषा प्रकाशिनी समितिबाट पास गरेपछि मात्र पत्रिका प्रकाशन गर्न पाइने  त्यो समयलाई फर्केर हेर्ने हो भने सुब्बा ऋद्धिबहादुर मल्लको साहित्यिक पत्रकारिताको कामको मूल्याङ्कन कुनै राशि वा रकमले गर्न सकिँदैन । त्यो अद्वितीय साहस नै थियो । साँच्चै भन्ने हो भने शारदाको प्रकाशन र त्यसको निरन्तरता दिने ऋद्धिबहादर मल्ल साहित्यिक पत्रकारिताको क्षेत्रबाट राष्ट्रिय विभूतिले सम्मानित गर्नुपर्ने नाम हो । २००७ देखि २०१७ सम्मको समय राणकालीन उकुसमुकसबाट भर्खरै राजनीतिक उन्मुक्तिको सास फेरिरहेको समय हो । यस कालमा नेपालबाट प्रगति (नारायण बाँस्कोटाद्वारा सम्पादित, २००९), धरती (ईश्वर बरालद्वारा सम्पादित, २०१३), इन्द्रेनी (ईश्वर बराल, माधव घिमिरेद्वारा सम्पादित, २०१३) जस्ता केही राम्रा पत्रिका प्रकाशित भएका हुन् तर दिगो भएनन् । २०१७ पछिको समय भनेको पञ्चायतकालीन अधिनायकी राजनीतिक धरातलमा हुर्केको समय हो । जुनबेला साहित्यिक पत्रिका निकाल्न ठुलै हिम्मत चाहिन्थ्यो । त्यस्तो समयमा पनि रूपरेखा (२०१७, असार–साउन, बालमुकुन्ददेव योगेन्द्रनाथ अर्यालपछि उत्तम कुवँरद्वारा सम्पादित), रचना (रोचक घिमिरेद्वारा सम्पादित, २०१८), भानु ( भवानी घिमिरेद्वारा सम्पादित, २०२० असोज) । रत्नश्री (मदनदेव, शान्तदेव भट्टराईद्वारा सम्पादित, २०२०, भदौ–असोज) जस्ता पत्रिका प्रकाशन हुनु र तिनले नेपाली साहित्यको समसामयिक लेखनलाई उजागर गर्दै साहित्यिक योगदान पु¥याएको कुरा बिर्सन मिल्दैन । रूपरेखा र रत्नश्री आज बन्द छन् । आरम्भमा मासिक रूपमा प्रकाशन भएको रचना हाल द्वैमासिकको प्रकाशन निरन्तरता कायमै छ । रचना एकल व्यक्तिको प्रयासबाट लामो समयसम्म निरन्तर प्रकाशन (विगत ६२ वर्षदेखि) भइरहेको एक मात्र साहित्यिक पत्रिका हो । वास्तवमा आधुनिक नेपाली साहित्यको श्रीवृद्धिमा शारदा र रूपरेखा पत्रिकाको योगदानको स्थान उँचो छ भने पुराना पत्रिकाहरूमा धेरै अङ्क (एक सय अङ्कभन्दा बढी) प्रकाशन गर्ने सीमित पत्रिकामा तिनलाई अलग्गै रूपले मूल्याङ्कन गर्नु पर्छ । किनभने एउटा साहित्यिक पत्रिकाले सय अङ्क निरन्तर प्रकाशन गर्नु भनेको एउटा इतिहास निर्माण गर्नुसरह हो । शारदाले १८७ वटा अङ्क प्रकाशन गरेको र रूपरेखा पत्रिका २०४५ सालपछि प्रकाशन बन्द भएकाले यसको कुल प्रकाशन अङ्क करिब तीन सय देखिन्छ । 

शारदाकालीन समयले सिर्जेको साहित्यिक समयलाई पत्रपत्रिकाको इतिहास कोर्नेहरूले शारदा युग (१९९१–२०१७) भनेर चिनाउने गरेको पाइन्छ । उसै गरी २०१७ पछिको लामो कालखण्डलाई रूपरेखा युग (२०१७ देखि २०४५ ? सम्म) भनेर चिनाउने चलन छ । कवि, नाटककार तथा समालोचक अभि सुवेदीका अनुसार यी दुई पत्रिका नेपाली साहित्यका छाहारी हुन्, रङ्गमञ्च हुन् र चौतारी हुन्, जहाँ सबै सुस्ताउन पाउँछन् ।  रूपरेखा (पहिले त्रैमासिक , द्वैमासिक हुँदै पछि मासिक) ले २६५ अङ्कभन्दा बढी नियमित अङ्क प्रकाशन गरेर तर कुनै पनि संयुक्ताङ्क (अङ्क नखप्ट्याईकन प्रकाशन गर्ने चलन) प्रकाशन नगरेर, एउटा मानक इतिहास पनि रचेको हो । रूपरेखा पत्रिकाको आकारका कारण त्यो बेला कुनै पुस्तक छपाउनु पर्दा रूपरेखा साइज भनेर चिनाउने पनि गरिन्थ्यो । यो सो पत्रिकाले आर्जेको प्रतिष्ठा हो । एउटा मासिक पत्रिकालाई सय अङ्क प्रकाशन गर्न करिव ९ वर्ष लाग्छ । उसै गरी द्वैमासिकलाई त्यो मानक पु¥याउन करिब १८ वर्ष लाग्छ । राणाकाल र पञ्चायतकालीन समयमा निरन्तर साहित्यिक पत्रिकाको प्रकाशन हुनु नै अनौठो मानिन्थ्यो । त्यसरी प्रकाशन गर्न सकेका निजी क्षेत्रका पत्रिकाहरू अत्यन्त थोरै सङ्ख्यामा छन् । रूपरेखा, भानु, रचना र अभिव्यक्ति त्यही व्रmममा परे पनि रूपरेखा र अभिव्यक्तिबाहेक अन्यका प्रकाशन उस्तो नियमित देखिएनन्, जसोतसो हिँडिरहे मात्र । खास गरेर त्यो कालमा सामयिक सङ्कलन जस्ता पत्रिका राजारानीको जन्मोत्सवका समयमा र दसैँ तिहार जस्ता चाडबाडमा विज्ञापनका लोभले प्रकाशन भएका देखिए पनि जीवन्त हुन सकेनन् । सरकारका संस्थागत निकाय गोरखापत्र संस्थानबाट प्रकाशन हुने मधुपर्क (२०२५) होस् वा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने प्रज्ञा वा कविता होस् वा नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित हुने मिर्मिरे (२०२९) होस्, तिनका प्रकाशनमा वित्तीय अभाव नहुने कारण ती दिगो गरी चल्नु भनेको एउटा अलग कुरो हो तर व्यक्तिगत प्रयास र गोजीको लगानीबाट साहित्यिक पत्रिका निकाल्नु भनेको आर्को पहाड खोद्नु बराबरै हो । रूपरेखा लगायत भानु पत्रिकाले ऊ बेला ग्राहक अभियान, खास गरेर आजीवन सदस्यता बनाउने अभियान नै सञ्चालन गरेका हुन् । त्यसबाट जसोतसो पत्रिकाका लागि केही रकम जोहो हुने भए पनि त्यतीका भरले मात्र पत्रिका प्रकाशनलाई नियमितता दिन गाह्रो हुन्थ्यो । कतिपय पत्रिका त ग्राहक बनाउने तर नियमित ननिस्कने गर्दा एक पटक ग्राहक बनेपछि त्यसलाई नवीकरण नगर्ने हुन्थे । त्यसैका कारण कुनै नयाँ पत्रिका निस्की हाले पनि तिनले अरू ग्राहक बनाउन सक्दैनथे । कुनैताका रूपरेखा लगायत भानु पत्रिकाले विभिन्न स्थानमा प्रतिनिधिको व्यवस्था गरी ग्राहक, विज्ञापन सङ्कलन गरी पत्रिका बचाउने उपाय नगरेका होइनन् तर त्यस्ता प्रतिनिधि स्वयंसेवामा हुन्थे, साहित्यप्रति लगाव हुनेहरू रचना प्रकाशन हुने आसमा ।

पत्रिकालाई टिकाएर लैजान गाह्रो हुन्छ । आरम्भ गर्दाको जाँगर सधैँ एकनास टिकाएर राख्न नसक्नेले वा हरेश खानेहरूले वा लगानीको प्रतिफल मात्र खोज्नेहरूले साहित्यिक पत्रिका टिकाउन सकोइनन्, यो यथार्थ हो । यो उत्पादक भइदिएको भए सायद टिक्थ्यो पनि होला तर यसलाई बचाउने भनेकै कहिले हरेश नखाने सम्पादक, प्रकाशक, तन, मन र धनले साथ दिने शुभेच्छुक, विज्ञापन दाता र स्थायी ग्राहक सदस्य हुन् । यसको स्थायी वा भरपर्दो आर्थिक तथा वित्तीय स्रोतको जगेडा नभएसम्म पत्रिका बिव्रmी गरेर त्यसको खर्च धान्छु भन्नु आकासकै फल बराबर हो । जे जति साहित्यिक पत्रकारिताको क्षेत्रमा काम भइरहेको छ, नितान्त सम्पादक र प्रकाशकका रुचि, सोख वा साहित्यप्रतिको लगावले नै हो । समालोचक तथा निबन्धकार कृष्णचन्दसिंह प्रधानले भनेका छन्, नेपालमा साहित्यिक पत्रकारितालाई सरकारले कहिले उत्पादक भनेर मानेको छैन नै तर एउटा कुरा के सत्य हो भने अनुत्पादक भए पनि साहित्य र संस्कृतिको फाँटमा नेपाल आत्मनिर्भर भने छ ।  हो, नेपाली साहित्यको वर्तमानसम्मको युग निर्माण र सयौँ साहित्यकारको जग निर्माण र तिनका विकासमा सारथि बन्ने साहित्यिक पत्रकारितालाई कम आँक्न सकिँदैन । 

साहित्यलाई उत्पादक र अनुत्पादक भनेर मापाङ्कन गर्ने नै होइन, यो त राष्ट्रकै धरोहर हो । साहित्यको विकासमा आधारभूमि प्रदान गर्ने साहित्यिक पत्रकारितालाई आजसम्म पनि उत्पादक क्षेत्र हो भनेर न सरकारले भनेको छ न कुनै नियामकीय अङ्गले त्यसका नीति अगाडि ल्याएको छ । साहित्यिक पत्रिकाका सम्पादक र प्रकाशकहरूको संस्था नेपाल साहित्यिक पत्रकार सङ्घ (२०६३) र साहित्यिक पत्रकार सङ्घ (२०२९) हरूको दबाबमा पे्रस काउन्सिल, नेपालले यता पछिल्लो समयमा सो काउन्सिलमा एक जना साहित्यिक पत्रकारको प्रतिनिधित्व गराउँदै आएको र साहित्यिक पत्रिकाहरूको वर्गीकरणको काम गर्दै आएको एवं सोही वर्गीकरणका आधारमा ती पत्रिकाहरूले काउन्सिलबाट वार्षिक एकमुष्ट कल्याणकारी विज्ञापन सहयोग पाउँदै आएका छन् । तर यस खाले सहयोगले पत्रिकालाई केही भरथेग मात्र हुने हो, सबै खर्च व्यवस्थापन हुन सक्दैन भन्ने अधिकांश साहित्यिक पत्रकारहरूको धारणा छ । 

अधिनायकवादको समयको कुरा त अलग्गै हो अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समयमा समेत राज्यले यो क्षेत्रलाई संरक्षण र प्रवर्धन गरेर लान सकेको देखिएन । खास गरेर निजी क्षेत्रका साहित्यिक पत्रिकाहरूको अवस्था दयनीय त नभनौ व्यावसायिक र दिगो बन्न नसकेका देख्दा लाग्छ यसमा गर्न धेरै चुकेको छ । एक हिसाबले भन्ने हो भने यो क्षेत्रमा लागेकाहरू रहर, त्याग र साहित्यप्रतिको समर्पण भावले मात्र लागेका छन् । मूलतः संस्थागत र कुनै सरकारी वा स्वायत्त निकायबाट प्रकाशन भइरहेका साहित्यिक पत्रिकालाई त्यस किसिमको असहजता नभए पनि निजी र अझ व्यक्तिगत तवरबाट प्रकाशन हुँदै आएका साहित्यिक पत्रिकाको हालत भने लगभग कमाउनेभन्दा पनि सामाजिक र विशुद्ध साहित्यिक स्वयंसेवा जस्तो मात्र अनुभव भइरहेको छ । 

साहित्यिक पत्रिका चलाएर कमाउने कुरा त परै जाओस् तिनको बिव्रmीबाट लागत (छपाई खर्च) सम्म पनि उठाउन सकिँदैन । साहित्यिक पत्रिका बिव्रmी भएर आउने कल्पनासम्म पनि गरिएको पाइन्न । अर्थात् पत्रिका पसल वा बिव्रmी एजेन्ट नै हुन्, तिनले पत्रिका बिव्रmी भएर पैसा सम्पादक प्रकाशककहाँ पठाउने गरेका उदाहरण बिरलाकोटी छन् । यसको अर्थ सबै एकै छन् भन्न खोजेको होइन, कतिपय इमानदार एजेन्ट पनि पाइन्छन् । 

कुनै साहित्यिक पत्रिका पत्रपत्रिका पसलतिरबाट उधारो वा सित्तैँमा किन्दैनौँ, पैसा तिरेरै किन्छौँ । म मधुपर्कको नियमित पाठक हुँ । यो पत्रिका करिब २०३० को आरम्भदेखि नै किन्दै आएको छु । मैले उधारो कहिले किनेको छैन । तर सामान्यतया साहित्यिक पत्रिका बिव्रmी भएर रकम फिर्ता भएको कुरा चाहिँ सबै सम्पादक, प्रकाशक हत्तपत्त स्विकार्दैनन् । यसै कारण अचेल धेरैजसो साहित्यिक पत्रिकामा स्थायी ग्राहक र आजीवन सदस्य बनाउने प्रचलन बढ्दो छ । कतिपयले चन्दा त नभनौँ स्वेच्छिक सहयोगका माध्यमले अक्षय कोष बनाउने र त्यसरी प्राप्त रकमलाई कुनै वित्तीय संस्था ( सहकारीमा समेत) मा राखी त्यसको ब्याज आर्जनबाट पत्रिकाको प्रकाशन लागत धान्ने काम गरेको देखिन्छ । जस्तै विगत बाउन्न वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका अभिव्यक्ति (द्वैमासिक) ले यस्तै अक्षय कोषको प्रणाली अवलम्बन गरेको छ । यो निकै राम्रो थालनी हो । तर बैङ्क, वित्तीय संस्थाको ब्याज तलमाथि भइरहने कारण यस्ता कोषमा प्रदत्त ब्याजमा उतारचढाव आउँदा पत्रिका प्रकाशनका लागि आवश्यक पर्ने आर्थिक व्यवस्थापनको स्थायी चाँजोपाँचो मिलाउने काम पनि तलमाथि हुनु स्वाभाविकै हो । 

यसै गरी बढी ब्याजका लोभले सहकारी संस्थाहरूमा राखिएका यसखाले कोषका रकम नै डुबेका उदाहरण पनि छन् । अहिले सहकारी एक प्रकारका ठगीखाने भाँडोका रूपमा समेत चित्रित हुन थालेका छन् । कतिपय पत्रिकाले केही विज्ञापनबाट पनि रकमको जोहो गरेका देखिन्छ । तर एसको अनुभव निकै तितो रहेको कुरा अधिकांश सम्पादक प्रकाशकहरूको छ । विज्ञापनका लागि हात पसार्नु भनेको भिख माग्नु जस्तै हो भन्ने तिनका अनुभव छन् । भिख भन्ने कुरा दिनहुँ वा पत्रिकाको हकमा प्रकाशन हुने अवधिका लागि (मासिक, द्वैमासिक आदि) मागिने कुरा पनि हुँदैन । भएन, यो विज्ञापन भन्ने विषय सामान्यतया निजी सम्बन्धका सम्पर्कमा उपलब्ध हुने कुरा रहेकाले सरकारको उदासीनता रहेसम्म त्यो सबैका लागि सहज नहुन सक्छ । यसैले साहित्यिक पत्रिकामा विज्ञापन पाइहालेमा त्यो चिठ्ठा पाएसरह नै हुन्छ भन्ने धेरैको अनुभव छ । 

निजी क्षेत्रका साहित्यिक पत्रकारितामा आज पनि उही एक सय पच्चीस वर्ष अगाडिको साहित्यिक पत्रकारिताको दुःख दर्द कायमै देखिन्छ । सम्पादक र प्रकाशक हिँड्यो त यो पनि हिँड्यो । ऊ हलचल गर्न सकेन भने पत्रिका पनि हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । 

मञ्जरी भिलेज, इमाडोल, ललितपुर